रियल मड्रिड बार्यन म्युनिखको ‘डिफेन्सका खम्बा’ भित्र्याउने नजिक

एजेन्सी, पुस १९
स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बार्यन म्युनिखको रक्षापंक्तिका प्रमुख खेलाडी डेभिड अलबा अनुबन्ध गर्न नजिक पुगेको छ । रियल मड्रिड निकट पत्रिका ‘मार्सा’ मा प्रकाशित रिपोर्टअनुसार रियलले अस्ट्रियाका २८ वर्षीय सेन्टर ब्याकलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न औपचारिक छलफल थालिसकेको छ ।

बार्यनसँग अलबाको सम्झौता यही जुन ३० मा समाप्त हुँदैछ । त्यसपछि उनले आफूले चाहेको क्लबमा फ्रिमा जान पाउँछन् । बार्यनमा अलबाको अवस्था बुझेको स्पेनिस जायन्ट अहिले युरोपका टप डिफेन्डरहरूमध्येका एकलाई भित्र्याउने दौडमा सबैभन्दा अगाडि देखिएको छ ।

अलबा बार्यनमा १२ सिजनदेखि रहँदै आएका छन् । सिजन २००९–१० देखि अलबाले लगातार बार्यनमा खेल्दै आएका छन् । उनले हालसम्म क्लबका लागि ४०४ खेल खेल्दै ३२ गोल गरेका छन् भने ४९ असिस्ट प्रदान गरेका छन् । एक सेन्टर डिफेन्डरका लागि यो निकै राम्रो तथ्यांक मानिन्छ ।

रियलका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले अलबालाई भित्र्याउन लागिपर्नुका केही खास कारण छन् । रियलले अलबालाई हालका कप्तान सर्जियो रामोसको विकल्पमा रूपमा हेरेको छ । यो सिजनको अन्त्यसँगै रामोसको सम्झौता सकिँदैछ । यदि रामोससँग थप सम्झौता नभए रियललाई सेन्टर डिफेन्समा तत्कालै भरपर्दा खेलाडी आवश्यक पर्छ ।

जिदानले अलबालाई प्राथमिकतामा राख्नुका केही कारण छन् । अलबा यस्ता खेलाडी हुन्, जसको पोजिसन सेन्टर ब्याक भए पनि उनले आवश्यक पर्दा लेफ्ट ब्याक पोजिसनबाट पनि प्रभावकारी रूपमा खेल्न सक्छन् । मिडफिल्डसँग राम्रो कनेक्सन स्थापित गर्न सक्ने र आक्रमण लाइनमा पनि असरदार रहने शैलीले जिदान उनीबाट लोभिएका छन् ।

त्यसैगरी, अलबाको अर्को राम्रो पक्ष भनेको आफ्नो सिनियर करिअरमा उनले आजसम्म कहिल्यै पनि रातो कार्ड पाएका छैनन् । डिफेन्डर पोजिसनबाट यति लामो सम खेलिसक्दा पनि रातो कार्डको भागीदार नबनेको अलबाको रेकर्डले उनी एक क्लिन र होसियार डिफेन्डर रहेको साबित हुन्छ । अलबाको अनुबन्ध भए रियलमा राफाएल भारानेसँग उनको रक्षापंक्तिमा मजबुत साझेदारी रहनेछ । अलबाले बार्यनका लागि १२ सिजन खेल्नेक्रममा हालसम्म मात्रै १७ पहेंलो कार्ड पाएका छन्, यो निकै दुर्लभ र क्लिन तथ्यांक मानिन्छ ।

हाल सरुवा बजारमा अलबाको मार्केट भ्यालु ६५ मिलियन युरो रहेको छ । तर, रियलले उनलाई फ्रि ट्रान्सफरमा भित्र्याउन आगामी जुन ३० सम्म पर्खिनुपर्ने हन्छ । रिपोर्टअनुसार रियलले अलबासँग वार्षिक १० मिलियन युरो तलब–सुविधा दिने गरी चार वर्षका लागि सम्झौता गर्नेछ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १०:३५
Loading...