नयाँ वर्षको पहिलो खेलमा आज चेल्सी र सिटीको महाभिडन्त हुँदै

काठमाडौं, पुस १९
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सी र म्यानचेस्टर सिटीले नयाँ वर्ष २०२१ को पहिलो खेल आज राति खेल्दैछन् । चेल्सीले लिगको १७औं साता र सिटीले १५औं साताको खेल आज राति खेल्न लागेका हुन् । यो खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नोली समयअनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा चेल्सी १६ खेलपछि २६ अंक बनाएर छैटौं स्थानमा रहेको छ । चेल्सीले यो सिजन हालसम्म ७ खेल जितेर ५ खेल बराबरी गरेको छ भने ४ खेल हारेको छ । चेल्सी पछिल्ला खेलमा खराब स्थितिमा छ । उसले पछिल्ला ५ खेलमा मात्रै १ खेल जितेर ३ खेल हार्दा १ खेल बराबरी गरेको छ

यता, यो सिजन सुरुआतबाटै कमजोर स्थितिबाट अघि बढेको सिटी १४ खेलपछि २६ अंकका साथ आठौं स्थानमा छ । उसले यो सिजन ७ खेल जितेर ५ खेल बराबरी गर्दा २ खेल हारेको छ । हालको अवस्थामा सिटी र चेल्सीको अंक समान २६–२६ छ । तर, चेल्सी गोेलअन्तरमा अघि छ ।

सिटी लिगका पछिल्ला ५ खेलमा अपराजित छ । उसले ३ खेल जितेर २ खेल बराबरी गरेको छ । आज चेल्सीको घरमा उत्रिँदा सिटी नयाँ वर्षको सुरुआत जितका साथ गर्ने दाउमा छ । घरेलु टोली चेल्सी र सिटीको आजको खेल निकै रोमाञ्चक हुने पक्का छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ०६:३६
Loading...