‘बार्सिलोनालाई दुःख पर्दा’ कोम्यानले स्वारेजलाई यसरी सम्झिए

एजेन्सी, पुस १९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले अस्ति भर्खर समर विन्डोमा क्लबबाट बिदा भएका फरवार्ड लुइस स्वारेजलाई सम्झिएका छन् । आफू नयाँ प्रशिक्षकमा नियुक्त भएपछि डच म्यानेजर कोम्यानको योजनामा बार्सिलोनाले उरुग्वेन फरवार्ड स्वारेजलाई लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा फ्रि ट्रान्सफरमा पठाएको थियो । टिमलाई नयाँ ढंगले निर्माण गर्ने भन्दै कोम्यानले ३३ वर्षीय स्वारेज आफ्नो योजनामा नरहने बताएका थिए ।

६ वर्ष क्याम्प नोउमा बिताएका टोलीमा एक प्रमुख गोलकर्ता खेलाडी स्वारेज अन्ततः लखेटिए । क्लबसँग एक वर्षको सम्झौता बाँकी छँदै क्लबले जाऊ भनेपछि स्वारेज निकै निराश हुँदै बार्सिलोना छाड्न बाध्य भएका थिए । स्वारेजलाई बिदा गरेपछि कप्तान लिओनल मेस्सीले पनि बार्सिलोना छाड्ने निर्णय गरेका थिए । उनीहरू निकै सुमधुर साथी हुन् । तर, मेस्सी परिबन्धमा परेर बार्सिलोनामै रहे ।

बार्सिलोना छाडेर एथ्लेटिको पुगेपछि स्वारेज बार्सिलोनामै जस्तो राम्रो लयमा खेलिरहेका छन् । उनले लगातार गोल गरिरहेका छन् भने टिमलाई सघाइरहेका छन् । ठीक यता बार्सिलोना भने स्वारेजबिना ठूलै संघर्ष गरिरहेको छ । दृश्यमा देख्दा बार्सिलोनालाई स्वारेजको अभाव स्पष्ट रूपमै खड्किएको छ । स्वारेजको बिदाइपछि बार्सिलोनामा मेस्सीसँग फ्रन्ट लाइनमा साझेदारी गर्ने कुनै खेलाडी जमेका छैनन् । जसका कारण टिम बार्सिलोना ला लिगामा निकै खराब स्थितिमा छ भने कप्तान मेस्सीको व्यक्तिगत प्रदर्शन पनि निकै कमजोर छ ।

बार्सिलोनाले आज राति ला लिगामा हुएस्काविरुद्ध नयाँ वर्ष २०२१ को पहिलो खेल खेल्दै छ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनेक्रममा कोम्यानले स्वारेजबारे धारणा राखे । पत्रकारले स्वारेजको बिदाइ, एथ्लेटिकोमा उनको लय र बार्सिलोनाको खराब स्थितिबारे प्रश्न गरेपछि कोम्यानले स्वारेजबारे बोलेका थिए । सोक्रममा उनले स्वारेज विश्वस्तरका एक खेलाडी भए पनि उनको बिदाइका लागि आफूलाई कुनै पछुतो नरहेको बताए ।

‘लुइस स्वारेज विश्वस्तरका गोलकर्ता खेलाडी हुन् । हिजो र आज पनि । आज एथ्लेटिकोमा उनले राम्रो गरिरहेका छन् । मैले उनलाई बिर्सेको छैन । किनभने, उनी हाम्रा पूर्वखेलाडी र अहिलेका प्रतिस्पर्धी हुन्,’ कोम्यानले स्वारेजबारे भनेका छन्, ‘तर, उनलाई बिदा गरेकोमा मलाई पछुतो छैन । यो मेरो मात्रै निर्णय थिएन । मेरोभन्दा बढी क्लबको योजना थियो । केही योजना र तयारीअनुसारै उनलाई बिदा गरिएको थियो । तर, यसमा मलाई कारण मानियो, जुन सत्य होइन ।’

‘स्वारेजबिना बार्सिलोना समस्यामा परेको’ विषयमा सोधिएको प्रश्नमा कोम्यानले भने, ‘अवश्य पनि, उनी यहाँ छँदा धेरै गोल गर्थे । लियोसँग उनको मैदानमा राम्रो साझेदारी थियो । तर, अब उनी हाम्रा खेलाडी होइनन् । यो साँचो हो– बार्सिलोना अहिले लिगमा राम्रो अवस्थामा छैन । तर, यो स्वारेज नभएकै कारण भएको होइन । हामी टिमलाई पुनर्निर्माण गर्नेक्रममा छौं । र, यस्तो बेला उतारचढाव हुन्छ । म स्वारेजलाई सम्झिन्छु । उनीप्रति मेरो सम्मान छ । तर, मैले मेरो टिम र मेरा खेलाडीबारे सोच्नुपर्छ ।’

एथ्लेटिको ला लिगाको उपाधि दाबेदार रहेको विषयमा कोम्यानले भनेका छन, ‘किन नहुने ? उनीहरू आजका दिनसम्म सबैभन्दा प्रमुख दाबेदार हुन्, यसमा शंका नै छैन । उनीहरूले राम्रो गरिरहेका छन् । र, च्याम्पियन बन्न सक्षम छन् । तर, लिगमा अझै थुप्रै खेल बाँकी छन् । बार्सिलोनाले धैर्यता नगुमाई अन्तिमसम्म लड्नेछ ।’

उमेरले चाँडै ३४ वर्ष पुग्न लागेका स्वारेजले एथ्लेटिको पुगिकन १५ खेलबाट ८ गोल र २ असिस्ट गरेका छन् । उनले च्याम्पियन्स लिगमा ४ खेल खेले पनि गोल गर्न सकेका छैनन् । उनले ला लिगामा ११ खेलबाट ८ गोल गरेका छन् । र, उनी लिगको सर्वाधिक गोलकर्ताको दौडमा पनि छन् ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ०३:५५
Loading...