नयाँ वर्षको पहिलो खेल जित्दै भिल्लारियल टप–४ मा उक्लियो

काठमाडौं, पुस १८
स्पेनिस ला लिगा फुटबलमा यो सिजन राम्रो लयमा रहेको भिल्लारियलले नयाँ वर्ष २०२१ को पहिलो खेल जितेको छ । उसले आफ्नो घरेलु मैदानमा पाहुना टोली लेभान्टेलाई २–१ ले हराउँदै नयाँ वर्षको सुरुआत जितका साथ गर्न सफल भएको हो ।

शनिबार राति लिगको १७औं साताको खेलमा भिल्लारियललाई जिताउनेक्रममा २ जना खेलाडीले गोल गरे । खेलको १९औं मिनेटमा फर्नान्डो निनोले गोल गरेर घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि भिल्लारियलले दोस्रो गोल खेलेको ५४औं मिनेटमा गर्न सफल भयो । यसपटक जेरार्ड मोरेनाले बक्सभित्रबाट लेभान्टेको डिफेन्डरलाई छिचोल्दै प्रहार गरेको बलले जाली चुमेपछि भिल्लारियल जिततर्फ अघि बढेको थियो ।

त्यपछि पाहुना टोली लेभान्टेले खेलको ७३औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो । सर्जिनो लियोनले गोल गरेर खेल २–१ मा झारेका थिए । तर, त्यसपछि पाहुना टोलीले थप गोल निकाल्न नसक्दा खेल भिल्लारियलले २–१ ले जित्न सफल भयो । अब यो जितपछि भिल्लारियल १७ खेलबाट २९ अंक जोडेर लिगको चौथो स्थानमा चढेको छ । पराजित लेभान्टे १६ खेलबाट १८ अंकसहित १२औं स्थानमा छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १५:१३
Loading...