टोटनह्यामद्वारा नयाँ वर्षको सुखद् सुरुआत : फर्कियो जितको बाटोमा

काठमाडौं, पुस १८
इंग्लिस क्लब टोटनह्यामले नयाँ वर्ष २०२१ को सुरुआत जितका साथ गरेको छ । आज शनिबार भएको खेलमा टोटनह्यामले लिगको १६औं साताको खेलमा पाहुना टोली लिड्स युनाइटेडलाई ३–० ले हरायो । यससँगै टोटनह्याम ४ खेलपछि जितको बाटोमा फर्किएको छ । यसअघि टोटनह्याम ४ खेलमा जितविहीन बनेको थियो ।

आफ्नो घरेलु मैदानमा लिगको एक बलियो टोली लिड्सलाई हराउनेक्रममा सन हेङ मिन र ह्यारी केनले उत्कृष्ट गोल गरे । टोटनह्यामका लागि ३ जना फरक–फरक खेलाडीले गोल गरे । पहिलो गोल खेलको २९औं मिनेटमा केनले पेनाल्टीमार्फत् गरेका थिए । बक्समा लिड्सका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा केनले कुनै गल्ती गरेनन् ।

त्यसपछि खेलको ४३औं मिनेटमा यो सिजन उत्कृष्ट लयमा रहेका सनले निकै उत्कृष्ट गोल गरे । केनले लामो दूरीबाट दिएको पासमा दौडएर पोस्ट नजिक पुगेका सनले वान टचमै बललाई जाली चुमाएपछि टोटनह्याम पहिलो हाफमा २–० ले अघि रह्यो । त्यसपछि दोस्रो हाफमा टोटनह्यामका लागि टबी एल्डरविरिल्डले गोल गरेर टिमलाई सुविधाजनक जिततर्फ अघि बढाएका थिए । उनको गोललाई गोल लाइन टेक्नोलोजीले मान्यता दिएको थियो । सो गोलपछि खेलमा थप गोल भएन । र, खेल टोटनह्यामले ३–० ले जित्यो ।

अब यो जितपछि टोटनह्याम १६ खेलबाट २९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा चढेको छ । ऊ अब समान खेल खेलेको लिग लिडर लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा समान ४–४ अंकले पछि छ । यता, पराजित लिड्स १७ खेलपछि २३ अंकका साथ ११औं स्थानमा झरेको छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १४:२४
Loading...