बार्सिलोनाले भित्र्याउँदैछ यी युवा डिफेन्डर

एजेन्सी, पुस २३
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ डिफेन्डर भित्र्याउने पक्काजस्तै भएको छ । स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट युवा डिफेन्ड इरिक गार्सियालाई २०२१ भित्रै भित्र्याउने तय भएको हो । गार्सिया १९ वर्षका स्पेनिस डिफेन्डर हुन् ।

सिटीमा गार्सियाको सम्झौताको अवधि जारी सिजनको अन्त्यसँगै सकिँदैछ । सम्झौता अवधि सकिएपछि बार्सिलोनाले गार्सियालाई फ्रि ट्रान्सफरमा भित्र्याउन पाउँछ । तर, जनवरीमै गार्सियालाई क्याम्प नोउ उतार्ने अवस्थामा भने बार्सिलोनाले सिटीलाई निश्चित रकम तिर्नुपर्छ । यदि बार्सिलोनाले गार्सियाका लागि रकम खर्च नगर्ने मनासाय बनाए उसले आगामी समर ट्रान्सफरसम्म पर्खिनुपर्ने हुन्छ ।

रिपोर्टअनुसार बार्सिलोना र गार्सिया दुई पक्षबीच सरुवाका लागि मोटामोटी सहमति बनिसकेको छ । बार्सिलोनाले जनवरीमै औपचारिक रूपमा अनुबन्ध गर्न नसके पनि समर सिजनमा आइपुग्ने गरी अनुबन्धको घोषणा भने यसै महिनाभित्रमा गर्नेछ ।

गार्सिया बार्सिलोनाकै पूर्वखेलाडी हुन् । उनी बार्सिलोनाको एकेडेमीमा हुर्किएका थिए । उनले सन् २००८ देखि २०१७ सम्म बार्सिलोनामा बिताएका थिए । उनी सन् २०१७ मा बार्सिलोना छाडेर सिटी पुगेका थिए । तर, बार्सिलाना अहिले आफ्ना पूर्वखेलाडीलाई पुनः भित्र्याउन लागिपरेको हो ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार १२:०१
Loading...