यस्तो रह्यो मेस्सीको वर्ष २०२० : हेरौं तथ्यांक

काठमाडौं, पुस १७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीका लागि वर्ष २०२० सधैंजस्तो सुखद् रहेन । उनको टिम बार्सिलोनाले यस वर्ष निकै खराब नतिजा भोग्यो भने सिजन २०१९–२० मा उपाधिमा जिरो नै भयो । त्यसैगरी, मेस्सीको व्यक्तिगत प्रदर्शन पनि गतिलो रहेन । बार्सिलोना मात्रै नभएर अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पनि मेस्सीको प्रदर्शन सामान्य मात्रै रहेको उनको यस वर्षको तथ्यांकले नै देखाउँछ ।

२०२० मा मेस्सीको टिम बार्सिलोना च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को बेइज्जीपूर्ण हारबाट पीडित बने । त्यसपछि उनले निराश बनेर क्लब नै छाड्ने निर्णय गरे । विविध कारणले क्लब छाड्न नपाएका उनको व्यक्तिगत प्रदर्शन जारी सिजनको सुरुआतबाटै निकै फितलो छ । सिजन सुरु हुँदा उनले सुरुआतका ५ गोल सबै पेनाल्टीमार्फत् गर्दा निकै आलोचित बनेका थिए । त्यसबेला धेरैले ‘अब मेस्सी सकिँदै गएको’सम्म भन्न भ्याए ।

अहिले पनि मेस्सी उस्तै खराब स्थितिमै छन् । उनको टिम बार्सिलोना ला लिा लिगामा ३२ वर्षयताकै खराब हालतमा रहँदा मेस्सीको व्यक्तिगत गोल र अन्य तथ्यांक पनि सन्तोषजनक छैन । यसै वर्ष मेस्सीले ब्राजिलका महान् खेलाडी पेलेले एकै क्लबका लागि गरेको सर्वाधिक ६४३ गोलको रेकर्ड तोडेर आफ्नो नाममा लेखाए । तर, यस वर्ष मेस्सीको ‘ओर्जिनल भर्सन’ दर्शकले मैदानमा अझैसम्म देख्न पाएका छैनन् ।

यो सिजनको अन्त्यपछि बार्सिलोना छाड्ने तयारीमा रहेका मेस्सी अब २०२१ लयमा फर्किने धेरैको अपेक्षा छ । उनी आफैंले पनि हालै एक अन्तर्वार्तामा कुरा गर्दै आफूले २०२१ मा बार्सिलोनालाई ठूला उपाधि जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् । के मेस्सीले नयाँ वर्षमा आफ्नो पुरानो जादुयी लय फर्काउन सक्लान् ? उनका करोडौं फ्यान यसको पर्खाइमा छन् ।

विगत वर्षहरूमा मेस्सीले हरेक वर्ष ५० गोल आसपास गर्दै आएका थिए । तर, यस वर्ष उनको गोल संख्या विगतभन्दा आधा नै घटेको देखिन्छ । यस वर्ष मेस्सी बार्सिलोना र अर्जेन्टिना दुवै टोलीमा खास जम्न सकेनन् । उनले टिमका लागि न कुनै उपाधि जिते, न धेरै गोल नै गर्न सके । तथ्यांक तुलना गर्ने हो भने वर्ष २०२० लाई मेस्सीको पछिल्लो दशकको सबैन्दा खराब वर्षका रूपमा व्याख्या गर्न सकिन्छ ।

२०२० कोरोना भाइरसको महामारीका कारण फुटबल उच्च रूपमा प्रभावित भए पनि अन्य खेलाडीको तुलनामा मेस्सीको रेकर्ड भने निकै सामान्य मात्रै रहेको छ । यस वर्ष उच्च लयमा प्रदर्शन गरेका जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका रोवर्ट लेवान्डोस्की र आफ्ना खास प्रतिस्पर्धी इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोभन्दा मेस्सीको तथ्यांक निकै कमजोर रहेको छ । वर्ष २०२० लाई सामान्य ढंगले बिदा गरेका मेस्सीको सटिक व्यक्तिगत तथ्यांक यहाँ राखिएको छ ।

वर्षभरिको कूल खेल – ४८
वर्षभरिको कूल गोल – २७
वर्षभरिको असिस्ट – १९
अर्जेन्टिनाका लागि – ४ खेलबाट १ गोल
जम्मा – ४८ खेलबाट ४६ गोलमा सहभागी

प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार ०३:५८
Loading...