रोनाल्डोको प्रभाव : १४ वर्षपछि सिरी ए खेलाडी सर्वाधिक गोलकर्ता !

काठमाडौं, पुस १६
युरोपियन टप–५ लिगमा १४ वर्षपछि पहिलोपटक इटालियन सिरी ए लिगका खेलाडी वर्षको सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । वर्ष २०२० का सबै लिग खेल सकिँदा यस वर्ष शीर्ष लिगबाट युभेन्टसका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् ।

र, युरोपियन शीर्ष लिगमा सिरी ए लिगका खेलाडी वर्षको सर्वाधिक लिग गोलकर्ता बनेको सन् २००६ पछि यसपालि नै पहिलोपटक हो । नत्र सन् २००६ यता युरोपमा सिरी ए लिगका कुनै पनि खेलाडीले आजसम्म कुनै पनि वर्ष शीर्ष लिगमा सर्वाधिक गोलकर्ता बन्न सकेका थिएनन् ।

वर्ष २०२० मा उमेरले ३६ वर्ष नजिक रहेका रोनाल्डो कूल ३३ गोलसहित युरोपको सर्वाधिक लिग गोलकर्ता बने । उनीपछि जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्की ३२ गोलसहित दोस्रो स्थानमा रहे । त्यसपछि तेस्रो स्थानमा रहेका इंग्लिस क्लब लिभरपुलका मोहमद सालाहले २३ गोल गरे भने चौथो स्थानमा रहेका स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले १९ गोल मात्रै गरे ।

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार १५:५८
Loading...