वर्ष २०२० : प्रिमियर लिगमा नयाँ स्टारको आगमन

काठमाडौं, पुस १६
वर्ष २०२० कोरोना भाइरसका कारण अन्य देशमा झैं इंग्लिस प्रिमियर लिगले पनि कठिनाइ भोग्यो । बन्द रंगशालामा भएका खेलकुदबाट लिगले सधैंजस्तो बिजनेस गर्न पाएन । तर, यस वर्ष प्रिमियर लिगले एक स्टार खेलाडी भने पायो– पोर्चुगलका ब्रुनो फर्नान्डेज । म्यानचेस्टर युनाइटेडले उनलाई पोर्चुगलकै क्लब स्पोर्टिङबाट भित्र्याएको थियो ।

२०२० को जनवरी ट्रान्सफरयता प्रिमियर लिगमा यदि कुनै खेलाडीको सबैभन्दा धेरै चर्चा भयो भने ती फर्नान्डेज नै हुन् । २६ वर्षका अट्याकिङ मिडफिल्डर मैदानको प्रदर्शन र उनको गोल संख्याका कारण नै चर्चामा रहे । उनी लगातार टोलीका प्रमुख खेलाडी रहँदै आए । यो बताइन्छ कि, फर्नान्डेजले म्यानचेस्टर सिटीका बेल्जियन प्ले मेकर केभिन डे ब्रुयानेलाई नै छायामा पारिदिए ।

फर्नान्डेज युनाइटेड पुग्नुअघि प्रिमियर लिगमा सबैभन्दा बेस्ट मिडफिल्डरका रूपमा डे ब्रुयानेको चर्चा हुन्थ्यो । तर, फर्नान्डेज प्रिमियर लिग पुगेपछि चर्चाको कित्तामा एकाएक फर्नान्डेज उभिए, डे ब्रुयाने छायामा परे । डे ब्रुयाने र फर्नान्डजको व्यक्तिगत तथ्यांक तुलना गर्ने हो भने एक वर्षको अवधिमा डे ब्रुयानेभन्दा फर्नान्डेजको तथ्यांक निकै शानदार छ ।

सो अवधिमा डे ब्रुयानेले जति गोल र असिस्ट गरेका छन्, त्योभन्दा बढी फर्नान्डेजले गरेका छन् । त्यत्ति मात्रै हैन, फर्नान्डेज प्रिमियर लिग पुगेयता उनले प्लेयर अफ् द मन्थ अवार्ड नै तीनपटक जितिसकेका छन् । तर, डे ब्रुयानेले सो अवधिमा एकपटक पनि जितेका छैनन् । जनवरीयता प्रिमियर लिगमा प्लेयर अफ् द मन्थ एकभन्दा धेरैपटक जित्ने फर्नान्डेज मात्रै हुन् । जनवरीयता फुटबल चलेका महिनामध्ये जम्मा ६ पटक प्लेयर अफ् द मन्थ घोषणा हुँदा फर्नान्डेजले मात्रै ३ पटक अवार्ड जितेका छन् ।

जारी सिजन फर्नान्डेजको टिम युनाइटेडले च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भयो । तर, प्रिमियर लिगमा भने ऊ राम्रो स्थितिमा छ । हाल युनाइटेड लिग लिडर लिभरपुलभन्दा एक खेल कम खेलेको अवस्थामा पनि ३ अंकले पछि परेर दोस्रो स्थानमा रहेको छ ।

वर्ष २०२० मा फर्नान्डेजको तथ्यांक हेरौं–

कूल खेल – २९
कूल गोल – १८
कूल असिस्ट – १४
कूल योगदान – २९ खेलबाट ३२ गोलमा सहभागी

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार १३:२१
Loading...