‘बार्साबाट लखेटिएका’ स्वारेजको लय : ग्रीजम्यान–डेम्बेले–ब्रेथवेटको भन्दा एक्लैको धेरै गोल !

काठमाडौं, पुस १६
स्पेनिस फुबल क्लब बार्सिलोना यो सिजन खराब स्थितिबाट गुज्रिरहँदा सोही क्लबबाट लखेटिएर एथ्लेटिको मड्रिड पुगेका फरवार्ड लुइस स्वारेज भने निकै राम्रो लयमा खेलिरहेका छन् । ३३ वर्षीय उरुग्वेन फरवार्ड स्वारेजलाई नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनाअनुसार गत समर सिजनमा बार्सिलोनाले लिग प्रतिस्पर्धी एथ्लेटिकोलाई फ्रि ट्रान्सफरमा पठाएको थियो ।

जारी सिजन बार्सिलोनाका प्रमुख गोल मेसिन तथा असिस्ट मास्टर लिओनल मेस्सी खराब लयमा रहेका बेला टिम त्योभन्दा खराब स्थितिमा छ । तर, क्लबले ‘अब हामीलाई तिम्रो आवश्यकता छैन’ भनेर एकपक्षीय रूपमा बिदा गरेका स्वारेजले भने एथ्लेटिकोमा आफ्नो पुरानै स्तरमा प्रदर्शन गरिरहेका छन् । र, गोलको अभाव हुन दिएका छैनन् ।

बार्सिलोनाका आफ्ना पूर्वसाथी मेस्सीसहित अन्य खेलाडी चरम रूपमा गोलको खडेरीबाट गुज्रिरहँदा स्वारेजको लयले बार्सिलोनालाई पक्कै पनि दुखाएको हुनुपर्छ । स्वारेजको व्यक्तिगत प्रदर्शनलाई छाडेर टिमका हिसाबले हेर्दा पनि ताजा स्थितिमा स्वारेजको टिम ला लिगाको शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना १० अंकले पछि छ । बार्सिलोनाका लागि त यो लिगमा ३३ वर्षयताकै खराब स्थिति रहेको तथ्यांकले देखाउँछ ।

बार्सिलोनामा अहिले गोलको एकदमै ठूलो खडेरी छ । त्यहाँमक गोलकर्ता खेलाडीहरू अहिले ठूलै संकटबाट अघि बढिरहेका छन् । ला लिगाका कीर्तिमानी सतातौंपटकका सर्वाधिक गोलकर्ता मेस्सीले यो सिजन ला लिगामा १४ खेल खेलिसक्दा मात्रै ७ गोल र १ असिस्ट रेका छन् । अन्य खेलाडीमा एन्टोनी ग्रीजम्यानले १४ खेलबाट ३ गोल र २ असिस्ट, उसामान डेम्बेलेले ९ खेलबाट २ गोल, मार्टिन ब्रेथवेटले १२ खेलबाट २ गोल र अन्सु फातीले ७ खेलबाट ४ गोल गरेका छन् ।

यता, बार्सिलोनाबाट अपमानजनक ढंगले लखेटिएका स्वारेजले ला लिगामा यो सिजन ११ खेलबाट ८ गोल र १ असिस्ट गरेका छन् । खेल संख्या, मैदानमा बिताएको समय हेर्दा स्वारेजको स्थिति यो सिजन हालसम्म मेस्सीको भन्दा धेरै राम्रो देखिन्छ । मेस्सीको भन्दा ३ खेल कम खेलेर पनि स्वारेजले मेस्सीको भन्दा १ गोल बढी गरेका छन् ।

त्यत्ति मात्रै हैन, स्वारेजलाई बिदा गरेपछि बार्सिलोनामा ठूलो अपेक्षा गरिएका अझ भनौं, नयाँ खेलाडी नआउँदासम्म स्वारेजको अभाव टार्न सक्ने खेलाडीका रूपमा हेरिएका ग्रीजम्यानको तथ्यांक त झनै खराब छ । यतिसम्म कि, बार्सिलोनामा यो सिजन ग्रीजम्यान, डेम्बेले र ब्रेथवटले ला लिगामा गरेको कूल गोल जोड्दा जति हुन्छ, एथ्लेटिकोमा स्वारेज एक्लैले त्यो भन्दा बढी गोल गरेका छन् ।

ग्रीजम्यान – १४ खेलबाट ३ गोल
डेम्बेले – ९ खेलबाट २ गोल
ब्रेथवेट – १२ खेलबाट २ गोल

ग्रीजम्यान प्लस डेम्बेले प्लस ब्रेथवेट – ३५ खेलबाट ७ गोल
एथ्लेटिकोमा स्वारेज एक्लैको तथ्यांक – ११ खेलबाट ८ गोल

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार ०८:५९
Loading...