खेलाडीको निराशा– ‘बार्सिलोनालाई १ गोल गर्न हजार मौका चाहिन्छ’

एजेन्सी, पुस १६
दुई दिनअघि स्पेनिस क्लब बार्सिलोनाले वर्ष २०२० को अन्तिम ला लिगा खेलमा आफ्नै घरेलु मैदानमा पाहुना टोली १७औं स्थानको एइबारसँग १–१ को बराबरीमा रोकियो । पहिलो हाफमा गोल खाएको बार्सिलोनालाई बराबरी गोल गरेर खेलमा फर्किन पनि ठूलै संघर्ष गर्नुपरेको थियो । आठौं मिनेटमा मार्टिन ब्रेथवेटले पेनाल्टी मिस गर्दा बार्सिलोनालाई समस्या बढेको थियो ।

तर, दोस्रो हाफमा बार्सिलोनाका लागि सब्सिच्युट खेलाडी उसामान डेम्बेलेले गोल गर्दै टिमलाई हारबाट बचाए । सो खेलमा कप्तान लिओनल मेस्सी चोटका कारण टोलीमा समावेश नै थिएनन् । तर, उनले दर्शकदीर्घामा उपस्थित भएर आफ्नो टोलीको खेल हेरेका थिए । तर, उनी दर्शक भएको खेलमा बार्सिलोना आफ्नै घरमा कमजोर टोलीसँग बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भयो ।

सो खेलपछि बार्सिलोनालाई अंक तालिकामा ठूलो झट्का लाग्यो । बार्सिलोना अब वर्ष २०२० का खेल सकिँदा १५ खेलपछि मात्रै २५ अंक बनाएर छैटौं स्थानमा छ । ऊ एक खेल कम खेलेको शीर्ष टोली एथ्लेकिटो मड्रिडभन्दा १० अंकले पछि परिसकेको छ । यदि एथ्लेटिकोले बाँकी एक खेल पनि जिते बार्सिलोना आधा सिजन पनि नभई एथ्लेटिकोभन्दा १३ अंकले पछि पर्नेछ ।

एइबारसँग निराशाजनक बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक र खेलाडी दुवैले निकै चरम निराशाजनक प्रतिक्रिया दिएका छन् । युवा डिफेन्डर जुनियर फिर्फोले त्यस्तै निराशा व्यक्त गरेका छन् । उनले बार्सिलोनाले लगातार खराब प्रदर्शन गरिरहेको विषयमा धारणा राख्दै ‘बार्सिलोनालाई १ गोल गर्न हजार मौका चाहिने’ टिप्पणी गरेका छन् ।

एइबारविरुद्ध बार्सिलोनाले कूल १६ प्रहार गरेको थियो, त्यसमध्ये ५ प्रहार अन टार्गेट हानेको थियो । तैपनि, बार्सिलोनाले दोस्रो गोल निकाल्न सकेन । यसबाट फिर्पो निकै असन्तुष्ट बनेका रहेछन् । स्पेनिस पत्रिका ‘मार्का’ सँग कुरा गर्दै उनले भनेका छन्, ‘हामीलाई १ गोल गर्न हजार मौकाहरू चाहिन्छ । थुप्रै मौका खेर फालेपछि हामी बल्ल गोल गर्न सक्छौं । तर, उनीहरू (एइबार) ले खेलभरिमा मात्रै एक मौका पाए । र, गोल पनि गरे ।’

फिर्पोले अघि थपेका छन्, ‘यो सिजन हामी लगातार यस्तै नियतिबाट गुज्रिँदै आएका छौं । हामी खेल नियन्त्रणमा राख्न सक्दैनौं । र, पटक–पटक निराश हुनुपरेको छ । मेरो विचारमा यो स्थिति आउनुको पछाडि हाम्रो कमजोर मानसिकता प्रमुख कारण हो ।’

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार ०७:५७
Loading...