२०२० को सुखद् बिदाइ : एथ्लेटिकोलाई शीर्ष स्थानमा सहज अग्रता

काठमाडौं, पुस १६
यो सिजन उत्कृष्ट लयमा रहेको स्पेनिस क्लब एथ्लेटिको मड्रिडले वर्ष २०२० को बिदाइ सुखद् अवस्थाबाट गरेको छ । गत राति भएको लिगको १४औं साताको तथा यस वर्षको अन्तिम खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली गेटाफेमाथि १–० को साँघुरो जित निकाल्यो । उसको जितमा उरुग्वेन फरवार्ड लुइस स्वारेज नायक बने ।

अब यो जितसँगै एथ्लेटिकोले शीर्ष स्थानमा स्पष्ट अग्रता बनाएर यस वर्षको बिदाइ गरेको छ । उसले अब २०२१ को को सुरुआत लिग लिडरको भूमिकामा गर्नेछ । वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा एथ्लेटिकोलाई जिताउन खेलको २०औं मिनेटमा लुइस स्वारेजले गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो । उनले यानिक कारास्कोको पासमा बक्स भित्रबाट उत्कृष्ट फिनिसिङमा हेडिङमार्फत् गोल गरेका थिए ।

सो गोलपछि खेलभरि नै दुवै टोलीबाट थप गोल भएन । र, खेल एथ्लेटिकोले १–० ले जित्यो । अब यो जितपछि एथ्लेटिकोले १४ खेलबाट ३५ अंक बनाएको छ । ऊ अब १६ खेल खेलेको रियल मड्रिडभन्दा स्पष्ट रूपमा २ अंकले अघि रहेको छ । यता, एथ्लेटिकोले १५ खेल खेलेको बार्सिलोनालाई स्पष्ट १० अंकले पछि पारेको छ । पराजित गेटाफे १५ खेलपछि १७ अंक बनाएर १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार ०१:३४
Loading...