काठमाडौं, पुस १५
स्पेनिस ला लिगा फुटबलमा ग्रानाडा र भ्यालेन्सियाबीच भएको वर्ष २०२० को अन्तिम खेलमा रातो कार्ड वर्षा भएको छ । बुधबार राति ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा ६ मिनेटको बीचमा दुई टोलीका खेलाडीले जम्मा ३ रातो कार्ड खाएर मैदान छाडेका थिए ।
पटक–पटक तनाव र खराब फउलका दृश्य देखिएको खेलमा पाहुना टोली भ्यालेन्सियनले ३ मिनेटको बीचमा दुई रातो कार्डको दर्शन पायो भने त्यसपछि ग्रनाडाका खेलाडीले पनि रातो कार्डको दर्शन पाए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली ग्रानाडाले ८८औं मिनेटमा गोल गर्दै खेल २–१ ले जित्यो ।
पाहुना टोली भ्यालेन्सियाका केभिन गेमेइरोले ३६औं मिनेटमा गोल गरेर ग्रनाडालाई उसकै घरमा पछि पारेका थिए । तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा घरेलु टोली ग्रानाडाका लागि केनेडीले गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए ।
त्यसपछि दोस्रो हाफमा भने खेल रातो कार्डमय नै भयो । खेलको ७०औं मिनेटमा भ्यालेन्सियाका मिडफिल्डर जासोन दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए । त्यसको ३ मिनेटमै भ्यालेन्सियाकै स्ट्राइकर गोन्कालो गुडेस सोझे रातो कार्ड पाएर मैदान छाडेपछि भ्यालेन्सिया ९ खेलााडीमा झरेको थियो ।
त्यसपछि खेलको ७६औं मिनेटमा घरेलु टोली ग्रानाडाका डिफेन्डर डोमिङस् डुआर्टेले विपक्षी खेलाडीलाई रोक्नेक्रममा पछाडिबाट छिर्के हान्न खोज्दा खराब तरिकाले ट्याकल गरेर लडाएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।
तर, त्यसपछि बाँकी समयमा ९ खेलाडीमा झरेको भ्यालेन्सियाविरुद्ध १० खेलाडीमा झरेको ग्रनाडाका लागि खेलको ८८औं मिनेटमा जोर्गे मोलिनाले क्रस पासमा हेडिङमार्फत् सुन्दर गोल गरेपछि खेल ग्रनाडाले २–१ ले जित्यो ।
अब यो जितपछि ग्रनाडा १५ खेलबाट २४ अंक जोड्दै लिगको सातौं स्थानमा चढेको छ । पराजित भ्यालेन्सिया १६ खेलपछि १५ अंकका साथ रेलिगेसन जोन नजिक १६औं स्थानमा छ ।
प्रकाशित मिति १५ पुष २०७७, बुधबार १८:०४