ला लिगामा कोम्यानले गरे आत्मसमर्पण : खेलाडीसँग ‘फायर’ हुँदै यसरी पोखे निराशा

काठमाडौं, पुस १५
स्पेनिस फुटबल क्लब बार्सिलोना मंगलबार राति वर्ष २०२० को अन्तिम तथा लिगको १५औं साताको ला लिगा खेलमा आफ्नै घरेलु मैदानमा रोकियो । लिगको १७औं स्थानको पाहुना टोली एइबारसँग निराशाजनक १–१ को बराबरीमा रोकिँदा बार्सिलोनालाई हार पन्छाउन पनि ठूलै संघर्ष गर्नु परेको थियो । कप्तान लिओनल मेस्सी बिनाको बार्सिलोनालाई हारबाट बचाउन हालासालै चोटमुक्त हुँदै मैदान फर्किएका सब्सिच्युट खेलाडी उसामान डेम्बेलेले दोस्रो हाफमा बराबरी गोल गरेका थिए ।

सो बराबरीपछि बार्सिलोना १५ खेलपछि मात्रै २५ अंक बनाएर छटौं स्थानमा रहेको छ । वर्षको अन्तिम खेल बराबरीमा रोकिएपछि बार्सिलोनालाई उपाधि होडमा निकै ठूलो झट्का लागेको छ । यदि लिग लिडर एथ्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आज (बुधबार) राति हुने आ–आफ्नो खेल जिते बार्सिलोना १० अंकले पछि पर्नेछ । त्यसमा एथ्लेटिकोसँग थप २ खेल बाँकी नै हुनेछन् । ती दुवै खेल जिते एथ्लेटिकोले बार्सिलोनालाई समान खेलपछि १६ अंकले पछि पार्नेछ ।

एइबारसँग रोकिएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने निराशाजनक प्रतिक्रिया दिएका छन् । उनले एइबारविरुद्ध आफ्ना खेलाडीले ठूलो गल्ती गर्दा अंक गुमाउनु परेको भन्दै उनले असन्तुष्टि मात्रै पोखेनन्, बार्सिलोनालाई अब लिग जित्न कठिन हुने पनि बताएका छन् । स्मरण रहोस्, डेड महिनाअघि उनले सार्वजनिक रूपमै वर्ष २०२० को अन्त्यमा पुग्दा बार्सिलोना ५ अंकको अग्रतासहित लिग लिडर बन्ने दाबी गरेका थिए, जतिबेला बार्सिलोना मात्रै ७ अंकले पछि थियो । त्यत्ति मात्रै हैन, एइबारसँगको खेलअघि पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले नयाँ वर्ष २०२१ बार्सिलोनाको हुने भन्दै बार्सिलोनाले ट्रिबेल उपाधि जित्ने दाबी नै गर्न भ्याएका थिए ।

तर, त्यसो भनेको २४ घन्टाभित्रै उनको बोली फेरियो । र, उनको विश्वास, दाबी र अपेक्षामा पानी पोखियो । एइबारसँगको खेलपछि त उनले आफ्ना खेलाडकिो आलोचना मात्रै गरेनन्, अब बार्सिलोनालाई ला लिगा जित्न निकै कठिन रहेको प्रतिक्रिया पनि दिएन । ‘आज हामी हार्नुपर्ने थिएन । मैले यस्तो नतिजाको कल्पना पनि गरेको थिइनँ । हामीले एक ठूलो गल्ती गर्दा त्यसको मूल्य चुकायौं । र, घरमै २ अंक गुमायौं । यो अंक हाम्रा लागि ज्यादै महत्त्वपूर्ण थियो,’ कोम्यानले भने, ‘नतिजाभन्दा पनि म आजको प्रदर्शनबाट खुसी छैन । हामीले यस्तो फुटबल खेल्न सुहाउँदैन ।’

कोम्यानले युवा स्टार पेड्री र उसामान डेम्बेलेको भने प्रशंसा गरेका छन् । ‘पेड्री र डेम्बेलेले आज राम्रो गरे । तर, पेनाल्टीमा गोल हुन नसक्नु हारको मुख्य कारण हो । यदि त्यहाँ गोल भएको थियो भने हामीले अरू ३–४ गोल गरेर खेल जित्न सक्थ्यौं । तर, जब पेनाल्टी मिस भयो, खेलाडीको मानसिकता नै अर्कै भयो । हामी लगातार यही कमजोर मानसिकताका कारण खेल गुमाउँदै आएका छौं । जब खेलमा एकपटक खराब मोड आउँछ, हामीले त्यसलाई सम्हालेर अघि बढ्न नसक्नु नै यो स्थिति आउनुको मुख्य कारण हो,’ कोम्यनले भने, ‘आजको खेलमा पनि स्पष्ट रूपमा त्यही देखियो ।’

त्यसैगरी, ला लिगाको उपाधि होडबारे कोम्यानले निराशाजनक प्रतिक्रिया दिएका छन् । उनले बार्सिलोनालाई अब ला लिगाको उपाधि होडमा फर्किन बहुत कठिन रहेको बताए । ‘२०२० लाई हामी यति खराब तरिकाले टुंग्याउँछौं भनेर मैले सोचेको थिइनँ । यो चिन्ताजनक भयो । नढाँटी भन्दा हामीलाई अब ला लिगा जित्न धेरै कठिन छ । हामी प्रतिस्पर्धा त गर्न सक्छौं तर जितका लागि दाबेदार बन्न अब सजिलो छैन । किनभने, हाम्रो हातबाट त्यो समय निकै पर पुगिसकेको छ ।’

प्रकाशित मिति १५ पुष २०७७, बुधबार १६:०३
Loading...