२०२० को अन्तिम खेलमा एथ्लेटिकोलाई गेटाफेको चुनौती

काठमाडौं, पुस १५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति विभिन्न ४ खेलहरू हुँदैछन् । ८ टिमले वर्ष २०२० का अन्तिम खेल आज राति खेल्न लागेका हुन् । आज राति हुने खेलहरूमध्ये एक खेलमा लिग लिडर एथ्लेटिको मड्रिड र १३औं स्थानको गेटाफेको खेल पनि महत्त्वपूर्ण हुनेछ ।

यो सिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा सबैभन्दा अघि रहेको एथ्लेटिको आज घरेलु मैदानमा हुने यो खेल जितेर यस वर्षलाई सुखद् नतिजाका साथ बिदाइ गर्ने दाउमा रहेको छ । हाल अंक तालिकामा एथ्लेटिको १३ खेलपछि ३२ अंकका साथ शीर्ष स्थानमा छ । गेटाफे १४ खेलपछि १७ अंकका साथ १३औं स्थानमा छ ।

यदि एथ्लेटिकोले घरेलु मैदानमा स्पष्ट जित निकाल्न सके रियल मड्रिडले आजै राति आफ्नो खेल नखेल्दासम्म एथ्लेटिकोले शीर्ष स्थानमा ३ अंकको अग्रता लिनेछ । तर, बराबरीमा रोकिए वा पराजित भए यसको फाइदा रियल मड्रिडलाई पुग्नेछ । तसर्थ, एथ्लेटिकोका लागि आज रातिको खेल महत्त्वपूर्ण हुनेछ । रियल मड्रिड र बार्सिलोनासँगको अग्रता कायमै राख्न पनि एथ्लेटिकोलाई जित आवश्यक पर्छ ।

आजका खेल नेपाली समयमा

ग्रानाडा भर्सेस भ्यालेन्सिया – राति ९ः४५ बजे
एथ्लेटिको मड्रिड भर्सेस गेटाफे – राति १२ बजे
सेल्टा भिगो भर्सेस हुएस्का – राति १२ बजे
इल्चे भर्सेस रियल मड्रिड – राति २ः१५ बजे

प्रकाशित मिति १५ पुष २०७७, बुधबार १३:००
Loading...