रियल मड्रिड २०२० को अन्तिम खेल इल्चेसँग खेल्दै : लगातार सातौं जितको खोजी

काठमाडौं, पुस १५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति साबिक विजेता रियल मड्रिडले वर्ष २०२० को अन्तिम खेल खेल्दै छ । १६औं साताको खेल खेल्न रियल १७औं स्थानको इल्चेको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक २ः१५ बजेबाट सुरु हुँदैछ ।

हाल अंक तालिकामा रियल १५ खेलपछि ३२ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको पनि समान ३२ नै अंक छ । तर, एथ्लेटिकोले २ खेल कम खेलेको छ । आज राति यी दुवै टोलीले आ–आफ्नो खेल खेल्नेछन् ।

रियल आज यस वर्षको अन्तिम खेल अवे मैदानमा खेल्दा लिगमा लगातार छैटौं जितको दाउमा हुनेछ । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको रियलले लिगका पछिल्ला ५ वटै खेलमा स्पष्ट जित निकालेको छ भने समग्रमा लगातार ६ खेल जितेको छ । आज राति पनि जिते रियलले वर्ष २०२० लाई लगातार सातौं जितहित सुखद् अवस्थाबाट बिदाइ गर्नेछ ।

प्रशिक्षक जिनेदिन जिदानले इल्चेविरुद्ध आफूहरूले उत्कृष्ट खेलका साथ राम्रो नतिजा निकालेर यस वर्षलाई बिदा गर्न चाहेको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । यदि आज राति एथ्लेटिको आफ्नो खेलमा पराजित भए वा बराबरीमा रोकियो र रियलले आफ्नो खेल जित्यो भने रियलका लागि त्यो वर्षको अर्को सखद् नतिजा हुनेछ । किनभने, ऊ एथ्लेटिकोलाई पछि पार्दै लिग लिडर बन्नेछ ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार १२:४१
Loading...