लिगमा लगातार दोस्रो जित निकाल्दै आर्सनलद्वारा २०२० को सुखद् बिदाइ

काठमाडौं, पुस १५
लगातार खराब नतिजा व्यहोर्दै आएको इंग्लिस क्लब आर्सनलले वर्ष २०२० को बिदाइ सुखद् अवस्थाबाट गरेको छ । उसले प्रिमियर लिगमा यस वर्षका अन्तिम २ खेलमा लगातार जित निकाल्दै यस वर्षलाई टाटा बाईबाई गरेको हो । गत राति लन्डन क्लबले ब्राइटनलाई उसकै घरेलु मैदानमा ०–१ ले हरायो ।

आर्सनलका लागि योे जित यो सिजन लिगमा समग्रमा छैटौं जित थियो भने पछिल्लो समयको लगातार दोस्रो जित । पछिल्ला २ खेलअघि लगातार ७ खेलसम्म जितविहीन बनेपछि रेलिगेसन जोन नजिक पुगेको उसले २०२० का अन्तिम २ खेलमा लगातार जित निकालेर अंक तालिकामा सुधार पनि गर्न सफल भएको छ ।

ब्राइटनको घरेलु मैदानमा आर्सनलको जितमा एलेक्सान्ड्रे लाकाजेटले खेलको ६६औं मिनेटमा गरेको १ मात्रै गोल निर्णायक बन्यो । गोल खाएपछि ब्राइटन खेलमा फर्किन सकेन । र, खेल आर्सनले ०–१ ले जित्यो ।

अब यो जितपछि आर्सनल १६ खेलबाट २० अंक जोडेर १३औं स्थानमा चढेको छ । पराजित ब्राइटनले समान खेलबाट १३ अंकसहित १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार ०४:२८
Loading...