युनाइटेडको कठिन जितमा रासफोर्ड नायक : लिभरपुलमाथि दबाब बढायो

काठमाडौं, पुस १५
इंग्लिस प्रिमियर लिग फुटबलमा पछिल्लो समय राम्रो लयमा रहेको म्यानचेस्टर युनाइटेडले वर्ष २०२० को अन्तिम खेलमा कठिन र महत्त्वपूर्ण जित निकालेको छ । गत राति १५औं साताको खेल आफ्नो घरेलु मैदानमा पाहुना टोली उल्भ्सविरुद्ध खेल्दा युनाइटेडले इन्जुरी समयमा गोल गर्दै १–० को जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय गोलरहित ०–० को अवस्थामा सकिएको थियो । युनाइटेडले खेलमा लगातार दबाब बनाए पनि उल्भ्सको रक्षापंक्ति छिचोल्न सकेन । ९० मिनेटअघि उसको १ गोलले मान्यता पाएन । तर, इन्जुरी समयको तेस्रो मिनेटमा युनाइटेडका लागि युवा स्टार मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा निर्णायक गोल गरेपछि खेल युनाइटेडले १–० ले जित्यो ।

अब यो जितसँगै युनाइटेडले लिगको दोस्रो स्थानमा रहँदै वर्ष २०२० को अन्त्य गरेको छ । उसले १५ खेलबाट ३० अंक जोडेको छ । समान खेल खेलेको लिभरपुल ३२ अंकसहित शीर्ष स्थानमा छ । युनाइटेडले अब लिभरपुलसँगको अंक दूरी २ मा छोट्याएर दबाब बढाएको छ । युनाइटेड पछिल्ला ५ खेलमा अपराजित छ । उसले ३ खेल जित्दा २ खेल बराबरी गरेको छ । यता, पराजित उल्भ्स १६ खेलपछि २१ अंकका साथ १२औं स्थानमा छ

प्रकाशित मिति १५ पुष २०७७, बुधबार ०२:४३
Loading...