बार्सिलोना १७औं स्थानको एइबारसँग आफ्नै घरमा हारबाट मुस्किलले बच्यो

काठमाडौं, पुस १५
स्पेनिस फुटबल क्लब बार्सिलोना वर्ष २०२० को अन्तिम खेलमा हारबाट मुस्किलले बचेको छ । गत राति भएको लिगको १५औं साताको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा १७औं स्थानको पाहुना टोली एइबारसँग पछि परेको अवस्थामा गोल गर्दै अर्को हार पन्छाएको हो । कप्तान लिओनल मेस्सीबिनै क्याम्प नोउ रंगशालामा उत्रिएको बार्सिलोनालाई १ गोल गरेर हार पन्छाउन पनि ठूलै संघर्ष गर्नु परेको थियो ।

मेस्सीलाई चोटका कारण यस खेलमा टोलीमै राखिएको थिएन । उनी मंगलबार नै आफ्नो देश अर्जेन्टिनाबाट स्पेन फर्किएका थिए । बार्सिलोनाको खेल हेर्न मेस्सी रंगशाला नै पुगेका थिए । तर, उनी दर्शक बनेको खेलमा टिमले घरेलु मैदानमा सुखद् नतिजा निकाल्न सकेन । बार्सिलोनालाई पछि परेको स्थितिमा फ्रेन्च विंगर उसामान डेम्बेलेले गोल गर्दै हारबाट बचाएका थिए ।

घरेलु मैदानमा बार्सिलोनाले निकै फितलो प्रदर्शन गरेको थियो । डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले १ पेनाल्टी मिस गरे भने उनको १ गोल पनि भिएआरले रद्द गरिदिएको थियो । फरवार्ड एन्टोनी ग्रीजम्यानले पनि पाएका अवसर खेर फाल्दा बार्सिलोना निराश बनेको थियो । युवा खेलाडी पेड्रीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमले त्यसको फाइदा लिन सकेन । सब्सिच्युट युवा खेलाडी ट्रिनकाओले पनि अवसर चुकाएका थिए ।

बार्सिलोनाले खेलको आठौं मिनेटमै पेनाल्टी पाएको थियो । बक्समा एइबारका खेलाडीले बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोमाथि फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् जाँच गरेर बार्सिलोनालाई पेनाल्टी दिएका थिए । तर, मार्टिन ब्रेथवेटले पेनाल्टी प्रहार पोस्टभन्दा बाहिर हानेपछि बार्सिलोना सरुआतमै खेलमा अग्रता लिनबाट चुकेको थियो ।

त्यसपछि खेलको २४औं मिनेटमा ब्रेथवेटले नै पेड्रीको क्रस पासमा गोल गरेका थिए । तर, गोल हुनेक्रममा उनी आफैं अफसाइड रहेपछि रेफ्रीले पछि उनको गोल रद्द गरिदिएका थिए । बार्सिलोनाका खेलाडीले गोल निकाल्न नसक्दा पहिलो हाफमा ऊ ०–१ ले पछि परेको थियो ।

दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले सुरुआतमै डेम्बेलेलाई मैदान छिराए । उनी हालसालै चोटमुक्त हुँदै मैदान फर्किए पनि टिम पछि परेको स्थितिमा गोल गरेर टिमको उद्धार गर्न सफल भए । खेलको ५७औं मिनेमा जुनियर फिर्पोको क्रस पासमा डेम्बेलले लो सटमा निकै सुन्दर गोल गरेर बार्सिलोनालाई १–१ को बराबरीमा फर्काएका थिए ।

त्यसपछि कोम्यानले टिममा लगातार खेलाडी परिवर्तन गरे पनि गोल हुन सकेन । बार्सिलोनाले एइबारविरुद्ध १६ पटक आक्रमण बुने पनि दोसो गोल निकाल्न नसकेपछि खेल १–१ को बराबरीमा सकियो । र, दुवै टिमले १–१ अंक बाँडे ।

अब यो बराबरीसँगै बार्सिलोनाले २०२० का सबै खेल सकिँदा १५ खेलबाट २५ अंक बनाएर छैटौं स्थानमा रहेको छ । बार्सिलोना अझै पनि २ खेल कम खेलेको शीर्ष टोली एथ्लेटिको मड्रिडभन्दा स्पष्ट ७ अंकले पछि छ । यदि एथ्लेटिकोले आफ्ना बाँकी २ खेल पनि जिते बार्सिलोना १३ अंकले पछि पर्नेछ, जुन धेरै ठूलो अन्तर हो ।

बार्सिलोना अब समान १५ खेल खेलेको रियल मड्रिडभन्दा ७ अंकले नै पछि । यता, बार्सिलोनालाई उसकै घरमा बराबरीमा रोकेको एइबारले १६ खेलबाट १६ नै अंक बनाएर १७औं स्थानबाट १५औं स्थानमा चढेको छ ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार ०२:१५
Loading...