नयाँ वर्ष २०२१ बार्सिलोनाको वर्ष हुनेछ : कोम्यान

एजेन्सी, पुस १४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले नयाँ वर्ष २०२१ आफूहरूको वर्ष हुने दाबी गरेका छन् । मंगलबार राति २०२० को अन्तिम खेल ला लिगामा एइबारसँग खेल्नुअघि पत्रकार सम्मेलनमा कुरा गर्दै डच म्यानेजरले यस्तो बताएका हुन् ।

कोम्यानले २०२० बार्सिलोनाका लागि निकै कठिन र बिर्सनालयक रहे पनि नयाँ वर्षमा बार्सिलोनाले आफ्नो वर्ष बनाउने बताएका छन् । बार्सिलोनाले २०२१ का सबै उपाधि जित्न प्रयास गर्ने उनले बताएका छन् । ‘२०२० विभिन्न कारणले कठिन र बिर्सनलायक रह्यो । कोभिडको असर र हाम्रा केही खराब नतिजाका कारण हामीले अनपेक्षित कठिनाइ भोग्यौं,’ कोम्यानले भनेका छन्, ‘तर, नयाँ वर्षमा नयाँ ढंगले काम गर्न हामी दृढ छौं । मलाई विश्वास छ, २०२१ बार्सिलोनाको वर्ष हुनेछ । हामी त्यसका लागि तयार छौं ।’

कोम्यानले आफूहरूले २०२१ मा तीनवटै उपाधि जित्न प्रयास गर्ने मात्रै बताएनन्, बार्सिलोना त्यसका लागि सक्षम टोली रहेको पनि बताए । ‘बार्सिलोना विश्वकै उत्कृष्ट टिम हो । २०२१ मा हामी तीनवटै उपाधि जित्न प्रयास गर्नेछौं । र, हाम्रो टिम त्यसका लागि सक्षम छ । हामी हाम्रा समर्थकहरूलाई नयाँ वर्षमा उपाधिको खुसी बाँड्नेछौं,’ कोम्यानले भने ।

जारी सिजन बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा उपविजेता बनेर प्रवेश गरेको छ । अन्तिम आठमा जान उसले फ्रेन्च क्लब पिएसजी प्रतिस्पर्धी पाएको छ । यता, बार्सिलोना ला लिगामा कमजोर स्थितिमा भए पनि उसलाई उपाधि होडमा कमब्याक गर्न अझै समय छ । कोपा डेल रे कप भने सुरु हुन बाँकी नै छ ।

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार १६:१४
Loading...