ला लिगाको उपाधि होडबारे मोड्रिकको यस्तो दाबी

एजेन्सी, पुस ११
स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिकले यस सिजन ला लिगा विगत सिजनभन्दा थप प्रतिस्पर्धात्मक हुने धारणा राखेका छन् । क्रिसमस पर्व अवसरमा एक अन्तर्वार्तामा कुरा गर्दै क्रोएसियन खेलाडीले एथ्लेटिको मड्रिडले यसपटक लिगमा बलियो दाबेदारी देखाएको बताए । मोड्रिकका अनुसार खास गरी यसपटक लिगमा सधैंझैं तीन ठूला टिमबीचमै उपाधि प्रतिस्पर्धा रहने बताए ।

‘अहिले नै उपाधि कसले जित्छ भनेर भन्न कठिन छ । किनभने, लिगमा अझै थुप्रै खेल बाँकी छन् । अहिलेका लागि एथ्लेटिको मड्रिड प्रमुख दाबेदार छ । तर, बाँकी खेलले हालको चित्र बदल्नेछ । उनीहरूले आफूलाई शीर्ष स्थानमा कहिलेसम्म राख्छन्, त्यो मलाई थाहा छैन । तर, उनीहरू अहिले उपाधि जित्न योग्य छन्,’ मोड्रिकले भने, ‘उनीहरूसँग अहिले राम्रो टिम छ । र, उनीहरूले अरूको भन्दा धेरै राम्रो गरिरहेका छन् ।’

रियल मड्रिड ला लिगाको उपाधि होडमा अन्तिम खेलसम्मै रहने मोड्रिकले बताए । ‘हामी अहिले २ खेल कम खेलेर एथ्लेटिकोसँग बराबरी छौं । यस सिजन पहिलो मड्रिड डर्बीमा हामीले उनीहरूलाई हराइसकेका छौं । अझै एक खेल बाँकी छ । मलाई लाग्छ, उनीहरूसँगको दूरी हाम्रा लागि धेरै ठूलो छैन । किनभने, हामीले अझै थुप्रै खेल खेल्ने छौं,’ मोड्रिकले भने, ‘यदि हामी लिग विजेता बन्न चाहन्छौं भने एथ्लेटिकोलाई रोक्नुपर्छ । हामी त्यसका लागि तयार छौं । सिजनको मध्यभागमा पुग्दा हामी सम्भवतः शीर्ष स्थानमा उक्लिनेछौं ।’

मोड्रिकले बार्सिलोनाको अवस्थाबारे पनि बोलेका छन् । उनले भनेका छन्, ‘सुरुआतमा हामी र बार्सिलोना दुवैले लिगमा संघर्ष गर्नुपरेको साँचो हो । उनीहरू अहिले केही पछि छन् । तर, यो धेरै समयका लागि होइन । उनीहरू चाँडै अगाडि आउनेछन् । मेरो विचारमा लिग अन्त्यतिर पुग्दै गर्दा सधैंका तीन ठूला टिमबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।’

हाल लिगमा १३ खेल खेलेको एथ्लेटिको ३२ अंक बनाएर शीर्ष स्थानमा छ । १५ खेल खेलेको रियल समान ३२ अंकसहित दोस्रो स्थानमा रहँदा १४ खेल खेलेको बार्सिलोना २४ अंकसहित पाँचौं स्थानमा छ । बार्सिलोना ताजा स्थितिमा एथ्लेटिको र रियलभन्दा समान ८–८ अंकले पछि छ ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार १६:००
Loading...