रियलका रोड्रिगो लामो समय मैदानबाहिर रहने

काठमाडौं, पुस ११
स्पेनिस फुटबल क्लब रियल मड्रिडका ब्राजिलियन युवा खेलाडी रोड्रिगो गोएस चोटका कारण लामो समय मैदानबाहिर रहने भएका छन् । उनी बुधबार ला लिगामा ग्रानाडाविरुद्धको खेल दौरान घाइते भएर मैदान छाडेका थिए । उनीमाथि ग्रानाडाका डिमिट्रीले खराब फउल गरेका थिए । चोट बोकेपछि उनलाई खेलको ३८औं मिनेटमा मैदानबाट निकालिएको थियो । उनले स्ट्रेचरमा बसेर रुँदै मैदान छाडेका थिए ।

क्लब रियलले रोड्रिगोको चोटबारे अफिसियल जानकारी दिँदै उनी तीन महिना मैदानबाहिर रहने बताएको छ । उनको दायाँ खुट्टाको मांशपेसीमा चोट बोकेको बताइएको छ । रोड्रिगोले पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा निरन्तर समय पाइरहेका थिए ।

रोड्रिगो नहुँदा पनि जिदानलाई खास असर भने पर्नेछैन । मार्को एसेन्सियो, लुकास भासक्वेज, इडेन हाजार्ड, भिनिसियस जुनियरजस्ता एकसे एक खेलाडी जिदानका लागि विकल्पमा हुनेछन् । हाजार्ड हालसालै चोटमुक्त हुँदै मैदान फर्किएका छन् ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार ०३:१२
Loading...