सोसिडाडलाई हराएपछि अल्बाले भने– ‘बार्सिलोना अब लयमा फर्कियो’

काठमाडौं, पुस ३
स्पेनिस बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले टिम अब आफ्नो लयमा फर्किएको बताएका छन् । गत राति ला लिगामा आफ्नो घरमा रियल सोसिडाडमाथि २–१ को कमब्याक जित निकालेपछि मिडियासँग कुरा गर्दै स्पेनिस खेलाडीले यस्तो बताएका हुन् ।

बार्सिलोना क्याम्प नोउमा पछि परेका बेला अल्बाले नै एक दर्शनीय गोल गरेर खेल १–१ बनाएका थिए । पछि फ्रेन्की डे जोङले पहिलो हफको अन्तिम समयमा गरेको गोल नै जितका लागि निर्णाय बनेको थियो । बार्सिलोना गत रातिको जितपछि २० अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा चढेको छ ।

पछिल्लो समय लिगमा खराब स्थितिबाट गुज्रिरहेको बार्सिलोनाका लागि सोसिडाडमाथिको जितले ठूलो राहत दिएको छ । सो कुरा अल्बाले पनि बताएका छन् । ‘आजको जित हाम्रा लागि ज्यादै महत्त्वपूर्ण हो । किनभने, हामीले लिग लिडरमाथि जित निकाल्यौं । र, ३ अंक जोड्यौं,’ अल्बाले भने, ‘त्योभन्दा ठूलो कुरा त आज हामीले सुधारिएको खेल खेल्यौं । हामीले जस्तो खेल्यौं, त्यस आधारमा हामी यो जितको हकदार थियौं । आज सबैले टिमका रूपमा लड्यौं । हामी यो जितबाट एकदमै खुसी छौं ।’

सोसिडाडविरुद्ध बार्सिलोनाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफमा राम्रो नरहेको पनि अल्बाले बताए । ‘मलाई लाग्छ, पहिलो हाफ त हामीले सिजनकै सबैभन्दा उत्कृष्ट खेल खेल्यौं । त्यहाँ सबै कुरा ठीकठाक थिए । हामीले २ गोल हान्यौं र प्रशस्तै गोलका अवसर पनि बनायौं । पहिलो हाफ सकिँदा दोस्रो हाफ हामी अरू २ वा ३ गोल गर्न सक्छौं भन्ने लागेको थियो,’ अल्बाले भने, ‘तर, दोस्रो हाफमा हामी दबाब पर्न गयौं । उनीहरूले आक्रामक खेल खेले । र, हामीले डिफेन्समा ध्यान दिनुपर्ने अवस्था आयो ।’

अल्बाले बार्सिलोना अब आफ्नो लयमा फर्किएको बताउन भुलेनन् । ‘हामी यो सिजन निकै कठिन अवस्थाबाट यहाँसम्म आइपुग्यौं । तर, बार्सिलोना अब लयमा फर्कियो । आजको खेल र जितबाट टिमको मनोलब बढेको छ । आगामी खेलमा हामी धेरै राम्रो गर्नेछौं,’ अल्बाले भने ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार १२:४२
Loading...