‘तलब घटाउन नमाने मेस्सीले बार्सिलोना छाड्नुपर्छ’

एजेन्सी, मंसिर ३०
स्पेनिस फुटबल क्लब बार्सिलोना अहिले कोरोना भाइरसको महामारीका कारण बढ्दो आर्थिक संकटबीच खेलाडीको तलब कटौती गरेर समस्या कम गर्ने प्रयासमा छ । तर, सिनियर टोलीका केही खेलाडीले अझैसम्म तलब कटौती गर्न तयार भएका छैनन् । यसअघि प्रशिक्षक रोनाल्ड कोम्यान, खेलाडी जेरार्ड पिके, फ्रेन्की डे जोङ, जोर्डी अल्बाले क्लबको प्रस्तावअनुसारै तलब कटौती गर्न सहमति दिइसकेका छन् ।

तर, कप्तान लिओनल मेस्सी, एन्टोनी ग्रीजम्यान, फिलिपे कोउटिन्होलगायत खेलाडीले तलब कटौतीमा सहमति दिएका छैनन् । उनीहरूले तलब काट्ने प्रस्ताव स्वीकार र अस्वीकार दुवै गरेका छैनन् । उनीहरूले आफ्नो निर्णय दिन बाँकी छ । वार्षिक ४० मिलियन युरो तलब लिने कप्तान मेस्सीको निर्णय बार्सिलोनाका लागि खास हुनेछ ।

यदि मेस्सीले तलब छाड्न नमाने उनले क्लब छाड्नुपर्ने क्लबका भावी अध्यक्षका उम्मेदवार इमिली राउसाउडले बताएका छन् । उनी नयाँ चुनावमा अध्यक्ष पदका एक प्रमुख दाबेदार हुन् । मेस्सीसँग बार्सिलोनाको सम्झौता २०२१ सम्म छ । अर्थात्, जारी सिजन सकिँदासम्म ।

‘एकपटक सबै खेलाडीलाई हामीले प्रस्ताव पठाइसकेका छौं । केही खलाडीले तलब कटौतीमा सहमति दिइसकेका छन् । हामी मेस्सीसहितका खेलाडीसँग छलफलमा बस्नेछौं । र, तलब कटौतमिा सोध्नेछौं । अहिलेको स्थिति नै त्यस्तै छ । हामी र खेलाडी सबै मिलेर क्लबलाई बचाउनुपर्छ । खेलाडीले पनि केही न केही त्याग गर्नैपर्छ,’ राउसाउडले भने ।

राउसाउडले अघि थपे, ‘यदि मेस्सी र हामीबीच तलब कौतीमा सहमति बन्न सकेन भने मेसलिे क्लब छाड्नेछन् । उनी हाम्रा लागि ज्यादै महत्त्वपूर्ण र क्लब इतिहासकै महान् खेलाडी हुन् । हामी उनलाई राख्न सबैखाले प्रयास गर्नेछौं । हामी उनलाई तिमी जाऊ भनेर कहिल्यै भन्न सक्दैनौं ।’

तलब कटौती गरेर खेलाडीले क्ललाई सघाउन तयार हुनेमा राउसाउडले विश्वास लिए । ‘मलाई आशा छ, मेस्सी हाम्रो प्रस्तावमा तयार हुनेछन् । उनीसँग शान्तिपूर्वक यसमा सहमति चाहन्छौं । तर, अहिले हाम्रा लागि मेस्सी वा अन्य कोही खेलाडीभन्दा पनि क्लबलाई बचाउने कुरा प्राथमिकतामा हुनुपर्छ,’ राउसाउडले भने ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार ०३:४८
Loading...