हामी हरेक सिजन मेस्सी र बार्सिलोनासँग खेल्न चाहन्छौं : मुलर

एजेन्सी, मंसि २४
जर्मन क्लब बार्यन म्युनिखका स्टार खेलाडी थोमस मुलरले स्पेनिस क्लब बार्सिलोनसँग च्याम्पियन्स लिगमा हरेक सिजन खेल्न चाहेको बताएका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै जर्मन खेलाडीले गत सिजन अन्तिम आठमा बार्सिलानाविरुद्ध भएको खेलबारे धारणा राखे । पोर्चुगलमा भएको सो खेलमा बार्यनले बार्सिलोनालाई ८–२ को बेइज्जतीपूर्ण हार चखाउँदै प्रतियोगिताबाट आउट गराएको थियो।

एक जर्मन पत्रिकासँगको कुराकानीक्रममा मुलरले लिओनल मेस्सीजस्ता खेलाडी र बार्सिलोनाजस्तो विश्वकै एक उत्कृष्ट टिमविरुद्ध आफू र आफ्नो टिमले सधैं खेल्न चाहना राख्ने बताए । पत्रकारले उनलाई ‘के तपार्ईं फेरि मेस्सी र बार्सिलोनाविरुद्ध खेल्न चाहनुहुन्छ’ भनेर सोधेका थिए ।

‘यसमा शंका नै छैन । म आफ्नो टिमबाट सधैं लियो र उनको टिमविरुद्ध खेल्न चाहन्छु । च्याम्पियन्स लिगमा हामी फेरि–फेरि पनि बार्सिलोनासँग खेल्न चाहन्छौं । उनीहरूसँग खेल्नु सधैं विशेष हुन्छ । किनभने, त्यहाँ विश्वकै एक उत्कृष्ट खेलाडी छन्,’ मुलरले भनेका छन् ।

गत सिजनको हारबारे मुलरले भनेका छन्, ‘बार्सिलोनासँगको ८–२ को जित एक नाटकीय रात थियो । म त्यो खेल र त्यो रात कहिल्यै भुल्दिनँ । हामीले एक टिमका रूपमा त्यो रात इतिहास रच्यौं । हामी त्यो जित र खुसीको याद सधैं गरिरहन्छौं ।’

प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार १६:४५
Loading...