ओल्ड ट्राफोर्डमा ‘फ्लप’ पोग्बाले जनवरीमै युनाइटेड छाड्ने

एजेन्सी, मंसिर २३
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बाले आगामी जनवरी विन्डोमै क्लब छाड्ने भएका छन् । उनका एजेन्ट मिनो राइओलाले पोग्बा नयाँ क्लबको खोजीमा रहेको बताएका छन् । ओल्ड ट्राफोर्डमा फ्लपजस्तै बनेका फ्रान्सका विश्वकपविजेता खेलाडी पोग्बाको भविष्य युनाइटेडमा अनिश्चित बन्दै गएको छ ।

नयाँ र युवा खेलाडीले स्थान लिन थालेपछि पोग्बा टोलीमा स्थान बनाउनकै लागि अहिले ठूलो संघर्ष गरिरहेका छन् । उनी पूर्वक्लब इटालियन युभेन्टस जान सक्ने एजेन्टले बताएका छन् । ‘पोग्बा त्यहाँ खुसी छैनन् । यदि उनी फुटबल खेलेर रमाउन चाहन्छन् भने प्रिमियर लिग छाड्नुपर्छ,’ राइओलाले भनेका छन्, ‘उनी युभेन्टस फर्किन सक्छन् । अन्य अफरबारे पनि छलफल गर्न सकिनेछ ।’

पोग्बाले जनवरीमै युनाइटेड छाड्न चाहेको पनि उनले बताए । ‘मलाई लाग्छ, उनले जनवरीमै क्लब छाड्नुपर्छ । त्यहाँ लामो समय रहनु समय खेर फाल्नु हो,’ एजेन्ट राइओलाले थपे ।

प्रकाशित मिति २३ मंसिर २०७७, मंगलवार १६:४३
Loading...