हामी साँच्चै खराब समयसँग जुधिरहेका छौं : कोम्यान

एजेन्सी, मंसिर २२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफूहरू अहिले लिगमा खराब समयसँग जुधिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लोपटक ला लिगामा अवे मैदानमा क्याडिजसँग २–१ को खराब हारबाट पीडित बनेपछि बार्सिलोना ला लिगामा ३२ वर्षयताकै खराब स्थितिमा पुगेको छ । सो हारपछि बार्सिलोना लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १२ अंकले पछि परेको छ ।

च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टटसँग समूह चरणको अन्तिम खेल खेल्नुअघि एक अन्तर्वार्तामा बोल्दै कोम्यानले लिगमा बार्सिलोना खराब अवस्थामा रहेको स्वीकारे । ‘हामी लिगमा साँच्चैं खराब स्थितिमा छौं । यो सहज मान्न सकिन अवस्था छैन । हामी जसरी खेलिरहेका छौं र जस्तो नतिजा आइरहेको छ, त्यो चिन्ताजनक छ,’ कोम्यानले भने, ‘हामी आत्मसमीक्षा गरिरहेका छौं । आशा छ, हामी चाँडै राम्रो बाटोमा फर्किनेछौं ।’

कोम्यानले लिगमा अझै थुप्रै खेल बाँकी रहेकाले आफूहरूले कमब्याक गर्ने दाबी गरे । ‘त्यहाँ अझै ३० खेल बाँकी छन् । यो भनेको धेरै लामो बाटो हो । हामी यी खेलबाट आफ्नो पोजिसनमा फर्किनेछौं । यो सहज छैन । तर, हामी अन्तिम खेलसम्म लड्नेछौं,’ कोम्यानले थपे ।

क्याडिजसँगको हारपछि बार्सिलोना १० खेल सकिँदा मात्रै १४ अंक बनाएर नवौं स्थानमा छ । ऊ लिग लिडर एथ्लेटिको भन्दा १२ अंक र रियल मड्रिडभन्दा ६ अंकले पछि छ ।

यता, च्याम्पियन्स लिगबारे बोल्दै कोम्यानले बार्सिलोना समूह विजेता बन्ने बताए । ‘च्याम्पियन्स लिगमा हामी आफ्नो समूहको विजेता बन्नेछौं । क्याम्प नोउमा युभेन्टससँग खेल हामी जित्न चाहन्छौं । यो खेल जित्नुको विशेष अर्थ छ,’ कोम्यानले भने, ‘च्याम्पियन्स लिगमा हामी आजसम्म लगातार जितमा छौं । हामी अन्तिम खेल पनि जित्न चाहन्छौं ।’

च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेल बार्सिलोनाले मंगलबार राति क्याम्प नोउमा युभेन्टससँग खेल्नेछ । यदि सो खेलमा नहारे बार्सिलोना समूह विजेता बन्नेछ । यी दुवै टोेली चौथो खेलबाट अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति २२ मंसिर २०७७, सोमबार ०७:१३
Loading...