‘‘बार्सिलोनाको व्यवहारबाट स्वारेजलाई चोट परेको छ’’

एजेन्सी, मंसिर १९
गत समर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई फ्रि ट्रान्सफरमा लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा पठायो । भलै, स्वारेज क्लब छाड्न चाहँदैन थिए । तर, नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा ३३ वर्षीय खेलाडी नचाहँदा–नचाहँदै बार्सिलोना छाड्न बाध्य भए । ६ वर्ष बिताएको क्लब अपमानजनक अवस्थाबाट छाड्नुपर्दा स्वारेज खुसी थिएनन् नै । सो कुरा त उनी आफैंले पनि बोलिसकेका छन् ।

यही कुरा डच क्लब आयाक्सका प्रमुख प्रशिक्षक इरिक टेन हगले पनि बताएका छन् । कुनैबला स्वारेजले खेलेको क्लबका प्रशिक्षकले स्वारेजलाई बार्सिलोनाको व्यवहारबाट चोट परेको एक अन्तर्वार्तामा बताए । स्वारेज इंग्लिस क्लब लिभरपुल जानुअघि आयाक्सबाट खेल्थे थिए । आयाक्सबाट नै युरोपियन फुटबलमा उदाएका थिए ।

‘बार्सिलोनाजस्ता ठूला क्लबमा कुनै खेलाडील निश्चित उमेरको विन्दुमा पुगेपछि विश्राम लिन्छन् । वा, खेलाडी आफैंले छाड्ने चलन छ । तर, स्वारेजप्रति बार्सिलोनाले जुन व्यवहार देखायो, त्यसले उनलाई ठूलो चोट दिएको छ । मलाई लाग्छ, उनको बिदाइ त्यत्ति हलुका रूपमा हुनुहुँदैन थियो,’ इरिकले भने ।

त्यसैगरी, इरिकले स्वारेजलाई एथ्लेटिको मड्रिड पठाउने बार्सिलोनाको निर्णय पनि सही नभएको बताए । ‘मेरो विचारमा स्वारेजलाई आफ्नो खास प्रतिस्पर्धी त्यसमा पनि ला लिगाको उपाधि दाबेदार क्लबमा फ्रि ट्रान्सफरमा पठाउनु सही निर्णय होइन । तपार्र्ईं हेर्नुहोस्, आज स्वारेजले त्यहाँ बार्सिलोनामा मेस्सीले भन्दा धेरै राम्रो गरिरहेका छन् र एथ्लेटिको ला लिगा जित्ने दिशामा छ ।’

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार १५:४०
Loading...