च्याम्पियन्स लिग : मोन्चेङ्लाडवाचविरुद्ध इन्टर मिलान ‘गर कि मर’को अवस्थामा

काठमाडौं, मंसिर १६
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज इटालियन क्लब इन्टर मिलानले समूह चरणअन्तर्गत आफ्नो पाँचौं राउन्डको खेल खेल्दै छ । यस खेलका लागि ऊ जर्मन क्लब मोन्चेङ्लाडवाचको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आज राति अवे मैदानमा उत्रिँदा मिलान चर्को दबाबमा हुनेछ । एन्टोनियो कोन्टेको टोली यसपटक अन्तिम ३२ बाटै बाहिरिने खतरामा छ । समूह चरणमा अब मात्रै २ खेल बाँकी रहँदा मिलान ४ खेलपछि मात्रै २ अंक बनाएर चौथो स्थानमा छ । लिग लिडर मोन्चेङ्लाडवाचको खातामा ८ अंक रहँदा दोस्रो स्थानको रियल मड्रिडले ७ अंक बनाएको छ । तेस्रो स्थानमा शाख्तर डोनेट्स्कले ४ अंक बनाएको छ ।

आज मिलानले मोन्चेङ्लाडवाचसँग उसकै घरमा खेल्दा रियल मड्रिडले शाख्तरसँग उसकै घरमा खेल्नेछ । हालको स्थितिमा रियल र मोन्चेङ्लाडवाच अर्को चरण जान दाबेदार टिम हुन् । मिलानलाई अर्को चरणको सम्भावना अन्तिम खेलसम्म जीवितै राख्न आज मोन्चेङ्लाडवाचमाथि स्पष्ट जित अनिवार्य छ । यदि आज हारे वा बराबरीमा रोकिए मिलान अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट आउट हुनेछ । यसअघि आफ्नो घरमा भएको पहिलो खेलमा मिलान मोन्चेङ्लाडवाचसँग २–२ को बराबरीमा रोकिएको थियो ।

यदि आज रियलले शाख्तरलाई हराएको खण्डमा रियल अन्तिम खेल बाँकी छँदै अर्को चरण जानेछ । मिलानले मोन्चेङ्लाडवाचलाई पराजित गर्दा उसको अर्को चरणको सम्भावना कायमै रहन्छ । तर, त्यो अवस्थामा पनि मिलानले आफ्नो अन्तिम खेलमा शाख्तरलाई अनिवार्य जित्नैपर्छ र रियलले पनि आफ्नो खेलमा मोन्चेङ्लाडवाचलाई हराउनैपर्छ । यदि त्यसो भए मिलान र मोन्चेङ्लाडवाचको समान ८–८ अंक भए पनि ‘हेड टु हेड’मा मिलानले मोन्चेङ्लाडवाचलाई पछि पारेर अर्को चरण जानेछ ।

मिलान अन्तिम १६ मा जाने अर्को बाटो भनेको उसले आफ्ना बाँकी दुवै खेल जित्नुपर्छ र रियल मड्रिडले आफ्ना बाँकी २ वटै खेल हार्नुपर्छ । यसो भए पनि मिलान अन्तिम १६ मा जान सक्छ । तर, रियलले बाँकी २ वटै खेल हार्ने कुरा सजिलो पनि छैन । त्यसकारण मिलान यदि अर्को चरण जान चाहन्छ उसले आफ्ना बाँकी दुवै खेल जित्नुपर्छ र मोन्चेङ्लाडवाचको रियल मड्रिडसँग हुने खेलमा हारको नतिजा पखिर्नु सबैभन्दा सजिला विकल्प हो । यदि मोन्चेङ्लाडवाचले मिलानसँग आज राति हुने खेल र रियलसँग हुने अन्तिम खेलबाट कम्तीमा १ अंक मात्रै जोड्यो र रियलले दुवै खेल हारेन भने मिलान सोझै आउट हुनेछ ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०६:३६
Loading...