मेस्सीले बार्सिलोनाबाटै करिअर अन्त्य गरेको हेर्न चाहन्छु : ग्वार्डिओला

एजेन्सी, मंसिर १५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले नयाँ क्लबबाट खेलेको आफूले हेर्न नचाहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । मेस्सीले यो सिजनको अन्त्यपछि बार्सिलोना छाडेर ग्वार्डिओलाकै टिम सिटी जाने चर्चा छ । ग्वार्डिओला र सिटी पनि ३४ वर्ष नजिक रहेका मेस्सीलाई भित्र्याउने दौडमा रहेको चर्चा छ ।

तर, स्पेनिस म्यानेजर ग्वार्डिओलाले आफू बार्सिलोना र मेस्सीको शुभचिन्तक भएको नाताले मेस्सीले बार्सिलोनाबाटै करिअर अन्त्य गरेको हेर्न चाहेको बताएका छन् । विगतमा बार्सिलोनामा लामो समय सँगै काम गरेकाले मेस्सी र ग्वार्डिओलाबीच व्यक्तिगत रूपमा सुमधुर सम्बन्ध रहेको छ ।

‘मेस्सी आफ्नो भविष्यबारे के सोचिरहेका छन्, मलाई थाहा छैन । त्यहाँ भित्र के चलिरहेको छ भन्ने मलाई थाहा छैन । म बार्सिलोना र मेस्सीको ठूलो शुभचिन्तक हुँ । त्यसैले उनले बार्सिलोनाबाटै करिअर अन्त्य गरेको हेर्न चाहन्छु,’ ग्वार्डिओलाले भनेका छन्, ‘बार्सिलोनासँग मेस्सीको जस्तो सम्बन्ध छ, त्यो विशेष छ । त्यो उनको घर हो ।’

मेस्सीलाई सिटीले भित्र्याउने चर्चाबारे ग्वार्डिओलाले खुलेर बताउन चाहेनन् । उनले घुमाउरो पारामा मेस्सीजस्ता खेलाडीलाई सबैले भित्र्याउन चाहने बताए । ‘मेस्सीजस्ता खेलाडीसँग काम गर्न सबै क्लब र प्रशिक्षक चाहन्छन् । तर, उनी अहिले बार्सिलोनाका खेलाडी हुन् । यदि उनले बार्सिलोनाको बसाइ अन्त्य गर्ने निर्णय गरे भने के भन्न सक्छु । अहिले मेरा लागि उनी बार्सिलोनाका खेलाडी हुन्,’ ग्वार्डिओलाले थपे ।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार १०:५९
Loading...