सिरी ए : घरेलु मैदानमा लाजियोको लज्जास्पद हार !

एजेन्सी, मंसिर १४
इटालियन सिरी ए लिग फुटबलमा उपाधि दाबेदार टिम लाजियो लज्जास्पद हारको सिकार भएको छ । आइतबार भएको लिगको नवौं खेलमा लाजियोलाई आफ्नै घरेलु मैदानमा पाहुना टोली उडिनेसले १–३ को नमिठो हार चखायो । ७१औं मिनेटमा पुग्दा उडिनेसले ०–३ को फराकिलो अग्रता लिए पनि त्यसपछि घरेलु टोलीले पेनाल्टीमार्फत् १ गोल गरेर हारको गोलअन्तर छोट्याएको थियो ।

आफ्नो घरेलु मैदानमा फितलो प्रदर्शन गरेको लाजियोविरुद्ध उडिनेसका लागि खेलको १८औं मिनेटमा टोलगे अरस्लानले सुन्दर गोल गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा उडिनेसका लागि इग्लिासियो पुसेटोले लाजियोको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गरेपछि लाजियो पहिलो हाफमै ०–२ ले पछि परेको थियो ।

त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत लाजियोले खेलको ७१औं मिनेटमा तेस्रो गोल खाएपछि उसको हातबाट खेल फुत्किएको थियो । यसपटक फर्नान्डो फरेस्टाइरीले गोल गोल गर्दै खेल ०–३ बनाए । तर, त्यसको ३ मिनेटमै उडिनेसले पेनाल्टी गोल खायो । बल लिएर अघि बढेका सिरो इम्मोबिलेलाई गोलकिपरले बल क्लियर गर्नेक्रममा लडाएपछि रेफ्रीले लाजियोलाई पेनाल्टी दिए । इम्मोबिले आफैंले पेनाल्टी प्रहार गर्दै गोल गरेपछि खेल १–३ मा छोट्टियो ।

तर, त्यसपछि बाँकी समयमा लाजियो खेलमा फर्किन सकेन । र, पाहुना टोली उडिनेसले लाजियोलाई उसकै घरमा १–३ ले स्तब्ध बनायो । अब यो जितपछि उडिनेस ९ खेलबाट १० अंक जोड्दै १२औं स्थानमा चढेको छ । पराजित लाजियो ९ खेलपछि १४ अंकसहित नवौं स्थानमा यथावत छ ।

प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार १६:३३
Loading...