‘मेस्सीका लागि प्रिमियर लिग कठिन’

एजेन्सी, मंसिर १२
स्पेनिस क्लब बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीले आगामी समर सिजनमा क्लब छाड्ने करिब–करिब पक्का छ । आगामी फेब्रुअरी महिनामा ३४ वर्ष पुग्न लागेका मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने सम्भावना छ । तर, बार्सिलोनाका लिजेन्ड ब्राजिलियन खेलाडी रिभाल्डोले भने मेस्सीका लागि प्रिमियर लिग बढ्दो उमेरका हिसाबले कठिन हुने बताएका छन् ।

अझै पनि आफूले मेस्सी बार्सिलोनामै बसून् र सोही क्लबबाट करिअर अन्त्य गरुन् भन्नेमा आफू रहेको रिभाल्डोले बताए । ‘म त अझै पनि लियोले बार्सिलोनाबाटै करिअर अन्त्य गरुन् भन्ने चाहन्छु । किनभने, उनको स्थान त्यहाँ विशेष छ । यसो भयो भने यो धेरै नै सुन्दर हुनेछ,’ रिभाल्डोले भने, ‘तर, लियोले बार्सिलोना छाड्ने सोच बदल्छन् कि बदल्दैन्, मलाई थाहा छैन ।’

रिभाल्डोले मेस्सीको क्षमता र प्रतिभामा कुनै शंका नरहे पनि उनलाई प्रिमियर लिगमा खेल्न कठिन हुने बताए । ‘मैले लियोको प्रतिभा र क्षमतामा शंका गरेको होइन । तर, उनको बढ्दो उमेरका कारण उनलाई त्यहाँ धेरै समय खेल्न कठिन छ । प्रिमियर लिग अन्य लिगभन्दा फरक र कठिन छ । त्यहाँका क्लबमा उमेर ढल्केका खेलाडी छैनन् । र, क्लबले पनि ३० नाघेका खेलाडी प्रायः किन्दैनन् । मेस्सी भएकै कारण कुनै क्लबले उनलाई लैजान सक्छ । तर, उमेरका कारण उनले एक वा दुई सिजनभन्दा बढी खेल्न कठिन हुन्छ ।’

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार ०५:४२
Loading...