बेवारिसे शव जलाउने नेपाली किशोरी ‘विश्वका १०० प्रभावशाली महिला’को सूचीमा

काठमाडौं, मंसिर १०
प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार संस्था ‘बिबिसी’ले सार्वजनिक गरेको विश्वका १०० प्रेरणादायी र शक्तिशाली महिलाको सूचीमा एक नेपाली किशोरी पर्न सफल भएकी छन् । काठमाडौंको पशुपति आर्यघाटमा बेवारिसे शव जलाउने १८ वर्षीय सपना रोका मगर विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी हुन् । बिबिसीले हालै वर्ष २०२० का लागि विश्वभरिबाट शक्तिशाली १०० महिलाको सूची घोषणा गरेको छ । सूचीमा विश्भरबाट विभिन्न क्षेत्रसँग सम्बन्धित १०० महिला परेका छन् ।

बिबिसीले बर्सेनि प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा १०० जनाको नाम छनौट गरेर घोषणा गर्दै आएको छ । यसपटक सो सूचीमा सपना पर्न सफल भइन् । सपनालाई बिबिसीले ‘कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेको’ भन्दै प्रशंसा गरेको छ ।

नेपाली किशोरी सपनाको घर म्याग्दी हो । उनी पढाइका लागि काठमाडौं आएकी थिइन् । काठमाडौं रहँदै गर्दा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे शव जलाएको देखेपछि उनी पनि त्यसबाट प्रभावित भएर सोही काम थालेकी थिइन् । मात्रै १८ वर्षकी सपना दैनिक अहिले पनि पशुपति आर्यघाट क्षेत्रमै बितिरहेको हुन्छ । काठमाडौं क्षेत्रमा बेवारिसे शवलाई उनी आफन्त बनेर दागबत्ती दिने गर्छिन् । उनले यसलाई समाजसेवाको रूपमा अंगालेकी छन् ।

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०६:४९
Loading...