‘रामोस विश्वकै नम्बर वान डिफेन्डर हुन्’

एजेन्सी, कात्तिक २७
स्पेनिस क्लब रियल मड्रिड तथा स्पेनको राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोस विश्वकै नम्बर वान डिफेन्डर रहेको प्रशिक्षक लुइस इनरिकेले बताएका छन् । गत राति मैत्रीपूर्ण खेलमा नेदरल्यान्डसविरुद्धको खेलपछि इनरिकेले आफ्ना खेलाडीको खुलेर तारिफ गरे । गत रातिको खेलसँगै रामोसले अन्तर्राष्ट्रिय फुटबलमा इटालीका गोलकिपर जियानलुइजी बुफोनका नाममा रहेको दोस्रो सर्वाधिक क्यापको रेकर्डसँग बराबरी गरेका थिए ।

रामोस अब विश्वकमै धेरै खेल खेल्ने इजिप्टका मिडफिल्डर अहेमद हसनभन्दा मात्रै ८ खेलले टाढा छन् । अब ८ खेलपछि सो रेकर्ड रामोसका नाममा लेखिनेछ । रोमासले बुफोनसँगको दोस्रो सर्वाधिक खेलको रेकर्ड बराबरी गरेपछि प्रशिक्षक इनरिकले भने, ‘सर्जियो एकदमै अद्भुत छन् । उनी फरक स्तरमा छन् । धेरै प्रतिभाशाली खेलाडीहरूले मात्रै यस्ता रेकर्ड बनाउन सक्छन्,’ इनरिकेले भने, ‘मेरो विचारमा उनी विश्वकै नम्बर वान डिफेन्डर हुन् ।’

इनरिकेले रामोस आफ्नो नेतत्वमा अर्को वर्ष हुने युरो कप र २०२२ मा हुने फिफा विश्वकपमा पनि टोलीको प्रमुख हिस्सा हुने बताए । ‘सर्जियोले स्पेनका लागि अझै धेरै खेल खेल्नेछन् । आगामी युरो कप र विश्वकपसम्म उनी हाम्रो टोलीका प्रमख हिस्सा बन्नेछन् । उनी हामीसँग रहेकोमा म ज्यादै खुसी छु,’ इनरिकेले भने ।

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार ११:३७
Loading...