‘मेस्सी अझै कमजोर भइसकेका छैनन्’

एजेन्सी, कात्तिक २६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी जारी सिजन खराब स्थितिबाट गुज्रिरहेका छन् । उनले क्लब र अर्जेन्टिनाको राष्ट्रिय टोेलीमा पनि लयमा प्रदर्शन गर्न सकिरहेका छैनन् । नयाँ सिजन यहाँसम्म आइपुग्दा मेस्सीले बार्सिलोनाका लागि १० खेलबाट ६ गोल गरेका छन् । ती ६ गोलमध्ये ५ गोल पेनाल्टीमार्फत् भएका छन् ।

यता, अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि मेस्सीले यो सिजन २ खेल खेलेका छन् । यी २ खेलबाट उनले १ गोल पेनाल्टीमार्फत् गरेका छन् । यसरी हेर्दा मेस्सीले यो सिजन क्लब र अर्जेन्टिनाका लागि गरी कूल १२ खेलबाट ७ गोल गरेका छन् । ७ गोलमध्ये ६ गोल पेनाल्टीमार्फत् गरेका छन् । मेस्सी स्पष्ट रूपमा गोलको खडेरीबाट गुज्रिरहेका छन् ।

मेस्सीको समग्र प्रदर्शनलाई लिएर उनको आलोचना भइरहँदा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने मेस्सीको बचाउ गरेका छन् । पछिल्लोपटक ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराउनेक्रममा मेस्सीले १ पेनाल्टीसहित २ गोल गरेका थिए । सो खेलमा मेस्सीले गरेको दोस्रो गोल यो सिजनको पहिलो ओपन–प्ले गोल थियो ।

डच म्यानेजर कोम्यानले एक अन्तर्वार्तामा कुरा गर्दै मेस्सी कमजोर भइनसकेको बताएका छन् । मेस्सी पछिल्लो समय लय समात्न संघर्ष गरिरहे पनि उनी मेस्सी नै रहेको कोम्यानले बताए । ‘यो साँचो हो कि, मेस्सी अझै पनि आफ्नो लयमा आउन संघर्ष गरिरहेका छन् । उनको प्रदर्शनलाई लिएर धेरैले आलोचना गरे । तर, मेस्सी भनेका मेस्सी नै हुन्,’ कोम्यानले भनेका छन्, ‘मेस्सी अझै कमजोर भइसकेका छैनन् । उनले अझै उत्कृष्ट प्रदर्शन दिने समय बाँकी नै छ । हामी त्यो समयको पर्खाइमा छौं ।’

प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार १५:०४
Loading...