युनाइटेड छाड्दै पोग्बा : नयाँ गन्तव्य कहाँ ?

एजेन्सी, कात्तिक २५
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बाले क्लब छाड्ने सम्भावना बढेको छ । ओल्ड ट्राफोर्डको टोलीमा पहिलो रोजाइ खोसिँदै गएपछि सन् २०१८ का विश्वकप विजेता खेलाडी नयाँ विकल्पको खोजीमा रहेको चर्चा सरुवा बजारमा छ । फ्रेन्च मिडफिल्डरले स्पेनको क्लब रियल मड्रिड जान चाहेका छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदान र पोग्बा एकै देशका रहेकाले उनीहरूबीच निकै राम्रो सम्बन्ध छ । विगतमा पोग्बाले पनि सार्वजनिक रूपमै रियलबाट खेल्ने चाहना व्यक्त गर्दै आएका छन् । पछिल्लो समय नयाँ खेलाडी चम्किरहेकाले पोग्बालगायत केही खेलाडीले पहिलो रोजाइमा स्थान पाउन छाडिसकेका छन् । जसका कारण पोग्बाको भविष्य पनि संकटमा परेको छ ।

जारी सिजनकै कुरा गर्दा युनाइटेडले घरेलु लिगमा निकै खराब सुरुआत गरेको छ । यता, पोग्बाको व्यक्तिगत प्रदर्शन पनि खस्किँदा क्लबमा उनको भविष्यलाई लिएर चिन्ता हुन थालेको बताइन्छ । प्रशिक्षक ओले गुनरले अहिले नयाँ खेलाडीमा विश्वास देखाइरहेकाले पोग्बा पहिलो रोजाइमा स्थान बनाउन ठूलै संघर्ष गरिरहेका छन् ।

आगामी जनवरी विन्डो वा समर विन्डोमा रियलले पोग्बाका लागि चित्तबुझ्दो प्रस्ताव गरे युनाइटेड पोग्बा बेच्न तयार हुने सम्भावना देखिएको छ । युनाइटेडले पोग्बाका लागि ६० मिलियन युरोसम्मको प्रस्ताव स्वीकार्ने अवस्थामा देखिएको छ ।

अघिल्लो वर्ष पोग्बाको नाम स्पेनकै अर्को क्लब बार्सिलोनासँग पनि जोडिएको थियो । तर, बार्सिलोनाले डच क्लब आयाक्सबाट फ्रेन्की डे जोङ भित्र्याएपछि पोग्बाको नाम सूचीबाट हटेको थियो ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १६:४८
Loading...