प्रशिक्षक कोम्यानद्वारा ग्रीजम्यानको आलोचना

एजेन्सी, कात्तिक २४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना फ्रेन्च खेलाडी एन्टोनी ग्रीजम्यानको पछिल्लो समयको खराब प्रदर्शनलाई लिएर आलोचना गरेका छन् । दुई दिनअघि ला लिगामा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएपछि डच म्यानेजरले ग्रीजम्यानको प्रदर्शनबारे आलोचनात्मक टिप्पणी गरेका हुन् ।

कप्तान लिओनल मेस्सीलाई बेन्चमा राखेर कोम्यानले सो खेलमा ग्रीजम्यानसहितका खेलाडीलाई सुरुआतमा मैदान उतारेका थिए । तर, घरेलु मैदानमा ग्रीजम्यानले पहिलो हाफमा निकै खराब प्रदर्शन गरेका थिए । उनले तीन सहज अवसर गुमाएका थिए भने एक पेनाल्टीसमेत मिस गरेका थिए ।

तर, दोस्रो हाफमा ग्रीजम्यानले खाली पोस्टमा १ गोल गरेर पहिलो हाफमा गरेको गल्तीको हिसाब बराबरी गरेका थिए । यद्यपि, प्रशिक्षक कोम्यान भने ग्रीजम्यानको प्रदर्शनबाट विल्कुनै खुसी हुन सकेनन् । खेलपछि बार्सिलोनाको अफिसियल टिभीसँग कुरा गर्दै उनले ग्रीजम्यानजस्ता विश्वस्तरका खेलाडीबाट पटक–पटक गल्ती हुनु खराब रहेको बताए ।

‘ग्रीजम्यान विश्वस्तरका एक खेलाडी हुन्, हाम्रो टोलीका एक प्रमुख हिस्सा । बेटिसविरुद्ध उनले १ गोल गरे । तर, उनले त्यहाँ त्योभन्दा धेरै गल्ती गरे । उनीजस्ता खेलाडीले तीन अवसरमा कम्तीमा एकपटक गोल गर्न सक्नुपर्छ,’ कोम्यानले भने, ‘उनको प्रदर्शनबाट म खुसी हुन सक्दिनँ ।’

कोम्यानका अनुसार ग्रीजम्यानले आफूलाई संयमित बनाएर आत्मविश्वास बढाउनुपर्छ । ‘मलाई लाग्छ, उनी विचलित छन् । उनले आफ्नो अवस्था सुधार गर्न संयमित बन्नुपर्छ र आत्मविश्वास बढाउनुपर्छ । उनले टोलीमा सहकार्य र संवाद बढाउनुपर्छ,’ कोम्यानले भने, ‘मलाई आशा छ, उनले चाँडै लय समात्नेछन् ।’

ग्रीजम्यानले जारी सिजन बार्सिलोनाका लागि कूल ९ खेल खेल्दै २ गोल गरेर १ असिस्ट गरेका छन् । बेटिसविरुद्धको गोल उनको ला लिगामा सिजनको दोस्रो गोल थियो । उनले ला लिगामा ७ खेलबाट २ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा २ खेल सकिँदा पनि गोलविहीन छन् ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार १३:३२
Loading...