च्याम्पियन्स लिगमा पिएसजी र युनाइटेडको भिडन्त आज राति : कसले मार्ला बाजी ?

काठमाडौं, कात्तिक ४
युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणअन्तर्गत आज राति युरोपका दुई ठूला टोलीहरू फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आमनेसामने हुँदैछन् । यी दुई टोलीले नयाँ सिनजको पहिलो खेल नै एकअर्काविरुद्ध खेल्न लागेका हुन् । यो खेल पिएसजीको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

नयाँ सिजन सुरु भएको पहिलो दिन आज राति विभिन्न ८ खेल हुँदा सबैभन्दा आकर्षणको खेल यही हुनेछ । दुवै टोली स्टार खेलाडीहरूले भरिएकाले पनि यो खेल दर्शनीय र घम्साघम्सीपूर्ण हुने पक्का छ । आज पिएसजीको टोलीमा नेइमार, केलियन एमबाप्पेसहितका खेलाडी हुनेछन् भने युनाइटेडमा ब्रुनो फर्नान्डेज, पाउल पोग्बा, मार्कुस रासफोर्डसहितका खेलाडी हुनेछन् ।

पिएसजी र युनाइटेड पछिल्लोपटक सिजन २०१८–१९ अन्तर्गत राउन्ड १६ मा खेलेका थिए । जहाँ युनाइटेड पहिलो लेगमा आफ्नै घरमा ०–२ ले हारेको थियो । तर, दोस्रो लेग खेल्न युनाइटेड पिएसजीको घरमा उत्रिँदा घरेलु टोलीलाई १–३ स्तब्ध बनाएको थियो । समग्रमा खेल ३–३ भए पनि बढी अवे गोलका आधारमा युनाइटेडले पिएसजीलाई आउट गराएर अन्तिम १६ मा पुगेको थियो ।

आज राति आफ्नो घरमा समूह चरणको पहिलो लेगको खेल खेल्न युनाइटेडलाई स्वागत गर्दा नेइमार र एमबाप्पेसहितको पिएसजी २०१९ को बदला लिने दाउमा हुनेछ । यस खेललाई केवल फुटबल मात्रै नभएर प्रतिष्ठाको खेलका रूपमा पनि हेरिएको छ ।

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार १४:२४
Loading...