जिदानले गरे हल्यान्डको प्रशंसा

एजेन्सी, कात्तिक ३
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले नर्वेका युवा फरवार्ड अर्लिङ हल्यान्डको तारिफ गरेका छन् । युरोपियन च्याम्पियन्स लिगको तयारीमा रहेका बेला उनले एक अन्तर्वार्तामा कुरा गर्दै हाल जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेलिरहेका यो समयका युवा स्टार हल्यान्डलाई ‘भविष्यका ठूला स्टार’ भनेका छन् ।

सरुवा बजारमा यो चर्चा छ कि, जिदानले गोल मेसिन हल्यान्डलाई रियलमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाको स्थानमा दीर्घकालीन योजनासहित भित्र्याउन चाहेका छन् । आगामी दुई सिजनभित्रमा रियलले हल्यान्ड भित्र्याउने योजना बनाएको चर्चा छ । जिदानले पनि हल्यान्ड चाहन्छन् भन्ने स्पष्ट जनाउ दिएका छन् ।

‘उनी कस्ता खेलाडी हुन्, सबैलाई थाहा छ । अहिले उनले डर्टमुन्ड र नर्वेमा राम्रो गरिरहेका छन् । उनमा खास क्षमता छ, उमेर पनि प्रशस्तै छ । मलाई लाग्छ, उनी भविष्यमा ठूला स्टार हुनेछन् र धेरै कुरा जित्नेछन्,’ जिदानले भने, ‘उनी गोलका लागि जन्मिएका खेलाडी हुन् । उनले आफ्नो करिअरमा थुप्रै गोलहरू गर्नेछन् ।’

रियलले हल्यान्डलाई अनुबन्ध गर्ने विषयमा सोधिएको प्रश्नमा जिदानले भने, ‘उनीजस्ता गोल मेसिन खेलाडीलाई सबै क्लब र प्रशिक्षक चाहन्छन् । उनी विश्वका टप–३ क्लबबाट खेल्ने खेलाडी हुन् । भविष्यमा जे पनि हुन सक्छ ।’

प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार १६:१६
Loading...